काठमाडौं । कोरोना भाइरसलाई कारण देखाउँदै संसद् बैठक बन्द गर्न समाजवादी पार्टीका सांसद् प्रदीप यादवले माग गरेका छन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले कोरोनाको त्राश फैलिएको बेला सरकारले भीडभाडमा नजानु भन्ने तर संसद् बैठक चलाउने काम ठिक भएन ।
उनले भने– कोरोनाको उपचार छैन, सावधानी नै उपचार हो ।
२७५ जना सांसद् एकै ठाउँमा भेला हुँदा सरकारले कुनै व्यवस्था नगरेको उनले बताए । परीक्षण नगरी संसद् बैठकमा प्रवेश गर्नु खतरापूर्ण भएको उनले बताए ।
सरकारले साबुन पानीले हात धुनु, भीडभाडमा नजानु, भोजभेतर नगर्नु भनेको छ तर हामी सांसद्हरुले कति सावधानी अपनाएका छौं ? उनले प्रश्न गरे ।
सांसद्हरु धेरै कार्यक्रममा जान्छन्, मन्त्रीहरु झन धेरै कार्यक्रममा जान्छन् तथा भेटघाट गर्छन् भन्दै उनले भने– ‘यो संसद्मा संक्रमण फैलियो भने के हुन्छ ? कि पूरा तयारी गरेर संसद् चलाउँ, नत्र बन्द गरौं ।’
