काठमाडौं । प्रतिनिधि सभा बैठकले विभिन्न तीनवटा विधेयकहरु दफावार छलफलका लागि समितिमा पठाएको छ ।
बैठकले संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले साे प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
अस्पताल भएका बेला पनि कार्यसूचीमा साे विधेयक अाेलीले पेस गर्ने उल्लेख थियाे ।
बैठकमा अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तीन विधेयक दफावारका लागि पठाइयोस् भनी प्रस्ताव राखे ।
उनले पेस गरेकाे ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ दफावार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव’ बैठकले सर्वसम्मत स्वीकृत गरेको छ ।
‘बैंक तथा वित्तीय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक,२०७६ दफावर छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव ’ र ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०७६ लाई दफावार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव’ पनि स्वीकृत भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरे ।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले निणयार्थ पेस गरे । उनले नै साे विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।
