काठमाडौं । नेपाली कांग्रेसका सांसद् गगन थापाले नेपाललाई कोरोनाको जोखिम भएको देशको सूचीमा विश्व स्वास्थ्य संगठनले बिना कारण नराखेको बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दै उनले भने– ‘भूअवस्थितिको कारणले मात्र नेपाललाई जोखिममा राखिएको होइन । त्यसका केही अरु पक्षहरु पनि छन् । नेपालको भौगोलिक अवस्था र खुला सीमा पनि एउटा कारण हो । हाम्रो आफ्नो क्षमताको कारणले गर्दा पनि जोखिम भनिएको छ । सीमामा चेकजाँच गर्ने क्षमता, सिंगो स्वास्थ्य प्रणालीको क्षमता आदिले पनि हामी उच्च जोखिम भएको देशमा परेका छौं ।’
विगतमा स्वास्थ्य मन्त्री रहिसकेका गगनले अलिकति मेहेनत गर्ने हो भने कोरोनाको जोखिम सम्पूर्ण रुपमा निर्मुल गर्न नसके पनि न्यून गर्न सकिने भन्दै महत्वपूर्ण सुझावहरु पनि दिएका छन् ।
‘कोरोना भाइरसको संक्रमण नेपालमा आउन नदिने र आएको अवस्थामा पनि तत्कालै गर्नुपर्ने केही महत्वपूर्ण काम छ’– गगनले भने– ‘कोरोनाबाट बचाउने काम एउटा मन्त्रालयको मात्र काम होइन, स्वास्थ्य मन्त्रालयको मात्र काम होइन । सबैको जिम्मेवारी छ, पूरै समुदायको जिम्मेवारी छ ।’
कोरोनाको नियन्त्रण र अनुगमनका लागि उपप्रधान तथा रक्षा मन्त्रीको संयोजकत्वमा समितिले एकीकृत कार्ययोजना बनाउनुपर्ने उनले बताए– ‘समितिले समयसीमा सहितको, आर्थिक स्रोतको जोहो गर्ने समेतको, कुन मन्त्रालयले के गर्ने, कुन तहको सरकारले के गर्ने, नागरिकले के गर्ने, प्रत्येक कुराको समय समेत किटान गरिएको स्पष्ट कार्ययोजना बनाउनुपर्छ ।’
‘उपप्रधानमन्त्री नेतृत्वको समितिको काममा सघाउन, अनुगमन गर्न र सुझाव दिन संसद्बाट विशेष समिति पनि बनाइनुपर्छ’– गगनले भने ।
उपप्रधानमन्त्रीको समितिले कार्ययोजना बनाउँदा समेट्नुपर्ने महत्वपूर्ण विषयबारे पनि गगनले सुझाव दिएका छन् ।
विदेशबाट आएकाहरु कहाँ जान्छन् भन्ने ट्राभल डायरी सरकारले राख्नुपर्ने उनले बताए । कोरोना प्रभावित देशका नागरिकहरु निर्वाध नेपाल आइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले भने– ‘गत फेब्रुअरीको एउटा अवधीमा इटली, कोरिया, चीन र इरानबाट एक हजार तीन सय ७८ जनाले नेपाल प्रवेश गरेका छन् । उनीहरु कहाँ छन् ? ट्रयाकिङ गरिएको छैन । थुप्रै देशका कामदार नेपाल आएका छन् तर ट्रयाकिङ गरिएको छैन । कुन देशबाट आउन बन्द गर्ने, कुन देशकालाई क्वारेन्टाइनमा राखेर मात्र नेपालमा निर्वाध घुम्न दिने र कुन देशबाट आएकालाई निरन्तर ट्रयाकिङ गर्ने भन्ने कार्ययोजना हुनुपर्छ ।’
नेपालीले गर्ने विदेश भ्रमणमा पनि ठोस नीति हुनुपर्ने बताउँदै उनले भने – ‘फरकफरक मन्त्रालयबाट फरकफरक कुरा आएको छ । श्रम मन्त्रालयले एउटा कुरा गरेको छ, शिक्षा मन्त्रालयले अर्काे कुरा गरेको छ । वन मन्त्री स्पेन जानुभएको छ, केही सांसद्हरु जापान गएका छन् । जाँदै नजाने भनेको हो या सकेसम्म नजाने कुराको छनौट गरेको हो ? कहाँ चाहिँ जाँदै नजाउँ भनेको हो ? फरक मन्त्रलायले फरक कुरा भनेको छ ।’
नेपालभित्रको आन्तरिक आवागमन पनि ट्रयाकिङ गर्नुपर्ने उनले बताए । उनले भने– ‘नागरिकले सेल्फ ट्रयाकिङ गर्नुपर्छ । आफू कहाँकहाँ गएको, कुन बसमा चढेको, कहाँ यात्रा गरेको सबै ट्राभल रेकर्ड नागरिकले राख्नुपर्छ । यसले तपाईंलाई फाइदा गर्न सक्छ, कुनै पनि बेला प्रयोग हुनसक्छ भनेर सरकारले नागरिकलाई भन्नुपर्छ ।’
‘अर्काे महत्वपूर्ण कुरा भनेको नागरिकलाई सूचित गर्ने एउटा प्लेटफर्म हुनुपर्छ’– उनले भने– ‘मानिसलाई सचेत बनाउने भन्दा पनि त्रसित बनाउने काम भइरहेको छ । बढि सूचनाले पनि मानिस त्रसित हुन्छन् । सूचना प्रवाह गर्न स्वास्थ्य मन्त्रालयले लिड गरेको एउटा प्लेटफर्म चाहियो । त्यसलाई सबै सञ्चार माध्यमहरुले पनि सहयोग गर्नुपर्यो । सूचनाका मल्टिपल सोर्सहरु छ अहिले, एउटा प्लेटफर्म बनाएर सरकारले भन्नुपर्यो । यो काममा सबै संचार माधयमले पनि सरकारलाई मदत गर्नुपर्छ ।’
अहिले नेपालमा दैनिक १६ सय जना सम्मको कोरोना परीक्षण सम्भव भएको बताउँदै उनले परीक्षणका लागि आवश्यक किटहरु पर्याप्त राख्न सरकारलाई सुझाव दिए । उनले भने– ‘परीक्षण ल्यावहरुको संख्या बढाइनुपर्छ, आइसोलेसन वार्ड र वेडहरु बनाउन धेरै खर्च लाग्दैन । स्वास्थ्यकर्मीहरुको बिमा गर्न पनि ढिला गर्न हुँदैन ।’
गगनले अहिलेको समयलाई ‘गोल्डेन पिरियड’ भने । उनको भनाई थियो– ‘कोरोना फैलिएपछि चीनको सामर्थ्य, उसले सामना गर्यो । तर, इरानले तयारी गर्ने मौका नै पाएन । सुरुमै त्यहाँ फैलियो । दक्षिण कोरियासँग सामर्थ्य छ, उसले सामना गरिरहेको छ । तर, हाम्रो त्यस्तो सामर्थ्य छैन् । नेपालमा अहिलेसम्म देखिएको छैन तर देखिन सक्छ भन्ने आधारमा तयारी गर्न हामीले समय पाएका छौं । यो समयलाई हामीले गोल्डेन पिरियड ठानेर आवश्यक तयारी गर्नुपर्छ ।’
