काठमाडौं । नेपाली कांग्रेसका सांसद् दिव्यमणी राजभण्डारीले कोरोना संक्रमणको उच्च जोखिममा नेपाललाई विश्वस्वास्थ्य संगठनले राख्नुको पछाडि दुईटा कारण रहेको बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा कोरोना उपर राखिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै उनले दुई कारण प्रस्तुत गरेका हुन् ।
नेपाल कोरोना भाइरस नभएको देश हो भनेर प्रचार गरेकाले विश्व स्वास्थ संगठन सशंकित भएको र नेपाललाई जोखिम देशमा राखेको उनले बताए ।
त्यसैगरी चीनबाट १७५ जना नेपालीलाई ल्याउँदा क्वारेन्टाइनमा राखियो तर त्यही देशबाट आएका अन्य पर्यटकलाई भने खुलेआम नेपाल घुम्न दिइयो– यो कारणले पनि नेपाललाई जोखिमको देशको सूचीमा राखिएको उनले बताए ।
कोरोना नियन्त्रणका लागि चीनबाट सहयोग लिनुपर्ने बेलामा चीनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाइनु गलत भएको उनले बताए ।
मास्कको कालोबजरी गर्नेलाई दुईलाख ५० हजार रुपैयाँ जरिवाना गरिएकोमा आपत्ति जनाउँदै उनले भने– ‘यस्तो बेला मास्क र अाैषधी कालोबजारी गर्नेलाई जरिवाना गर्ने होइन, सिधै जेल हाल्नुपर्छ ।’
