काठमाडौं । आजकाल सामाजिक सञ्जालहरु असामाजिक सञ्जाल बनिरहेको विचार सांसद् पार्वतीकुमारी विसुंखेले राखेकी छिन् ।
उनको भनाई छ– इन्टरनेट आधारित सामाजिक सञ्जालहरुले जनतालाई आतंकित बनाइरहेका छन् ।
विश्वभर फैलिरहेको कोरोना भाइरस बारेमा सामाजिक सञ्जालमा मिथ्या खबर फैलँदा यसले मानवीय क्षति हुने उनले बताइन् । प्रतिनिधि सभामा कोरोना भाइरसबारे राखिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै उनले भनिन्– ‘सामाजिक सञ्जालमा आएका भ्रामक समाचारहरुले जनतालाई भ्रमित बनाएको छ ।’
कोरोना भाइरस आगामी दिनमा विश्वभर फैलिएमा मानिसको आपसी युद्ध गौण हुने बताउँदै उनले भनिन्– ‘भाइरससँगको युद्ध मुख्य बन्ने तर मानवीय युद्ध गौण बन्ने अवस्था आउँदै छ ।’
उनले हातहतियारको विकास र अनुसन्धानमा भइरहेको खर्च औषधी अनुसन्धानमा लगाउनुपर्ने बताइन् ।
सनराइज खबरमा प्रकाशित सम्पादकीय उदृत गर्दै उनले भनिन्– ‘व्यारेक चलाउन भइरहेको खर्च अस्पताल चलाउन, सेना पाल्न भइरहेको खर्च स्वास्थ्यकर्मी पाल्न तथा बन्दुकको गोली बनाउने खर्च औषधीको गोली बनाउन लगाउनुपर्छ ।’
भूकम्प र नाकावन्दीबाट नेपालले पाठ नसिकेको तर अब कोरोनाबाट सिक्नुपर्ने उनले बताइन् ।
