काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
सभामुख सापकोटालाई भेट्न राजदूत क्वात्रा मंगलबार बिहान सभामुखको कार्यकक्ष सिंहदरबार पुगेका थिए ।
भेटमा नेपाल–भारत सम्बन्ध र समसामयिक राजनीति लगायत विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
सरकार, संसद् र जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउने विषयमा समेत छलफल भएको न्यौपानेले बताए ।
गत पुसमा भारतीय विदेश मन्त्रालयले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो । गत फागुन १८ मा काठमाडौं आएका क्वात्राले १९ गते राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।
त्यसपछि उनले भेटवार्ता तीब्र पारेका छन् । क्वात्राले फागुन १९ मा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका थिए ।
उनले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरिसकेका छन्।
