काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेविरुद्ध उजुरी आह्वान गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको समिति बैठकले पाण्डेविरुद्ध उजुरी दिन सरकारी सञ्चारमाध्यममा १० दिने सूचना निकाल्ने निर्णय गरेको हो ।
समिति सभापति लक्ष्मणलाल कर्णले मन्त्रिपरिषद्ले सिफारिस गरी पठाएका चीनको आवासीय तथा उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूत पाण्डेका सम्बन्धमा गुनासो, उजुरी दिन १० दिन समय दिइएको जानकारी दिए।
समिति सदस्यहरुलाई पाण्डेको व्यक्तिगत विवरण बाँडिएको र गुनासो तथा सूचना संकलनका लागि उजुरी आहृवान गरिएको उनले बताए ।
संसदीय सुनुवाइ हुने व्यक्तिका नाममा १० दिनको समय दिएर उजुरी आह्वान गर्ने प्रचलन छ । उजुरी परेमा छानबिन गरेर समितिले प्रस्तावित व्यक्तिको सुनुवाइ गर्नेछ ।
गत फागुन १८ को मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाएर पूर्वमन्त्री पाण्डेलाई नयाँ राजदूत सिफारिस गरेको थियो ।
समितिले नाम अनुमोदन गरेपछि मात्रै पाण्डे राजदूतमा नियुक्तिको बाटो खुल्ने छ ।
