काठमाडौं । कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव प्रतिनिधि सभा बैठकमा पेस हुन सकेन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समय दिन नसकेपछि सो प्रस्ताव बैठकको कार्यसूचीबाट हटाइएको हो ।
कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै सदनमा सत्तारुढ सांसद्ले बिहीबार संकल्प प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची थियो ।
नेकपा सांसद् खगराज अधिकारीले साे संकल्प प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए । सो प्रस्तावको समर्थक नेकपाकै सांसद् रामकुमारी झाँक्री छिन् ।
साे प्रस्तावमा - ‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकाले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकाले’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।
आवश्यक छलफल गरेर मात्र साे प्रस्ताव पेस गरिने बताइएको छ ।
