काठमाडौं । कारागार विधेयक, २०७६ थप एक पाइला अगाडि बढेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो ।
गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको कारागार विधेयक, २०७६ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकले सर्वसहमतिले स्वीकृत गरेको हो ।
यस्तै पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ पनि दफावार छलफलका लागि समितिमा पठाइएको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले प्रस्तुत गरेको सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो
बैठकले अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकले ‘अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि अनुमोदन गरेको छ । गृहमन्त्री थापाले प्रस्तुत गरेको साे प्रस्ताव बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो ।
बैठकले कांग्रेसका तर्फबाट पाँचथर जिल्ला क्षेत्र नं १ बाट संविधानसभामा निर्वाचित सांसद् पूर्णकुमार शेर्मा लिम्बुको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सांसद् शेर्माको निधनप्रति शोक प्रकट गर्दै प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
मृगौलाको समस्याले पीडित पूर्वस्थानीय विकासमन्त्री शेर्माको यही फागुन २८ गते निधन भएको थियो । शेर्मा ०४८ मा कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा मनोनित भएका थिए । ०६४ मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रतिनिधि सभाको अर्काे बैठक आगामी चैत ७ गते बस्नेछ ।
