काठमाडौं । नेपालमा अहिले निरासा फैलाउने र आशा जगाउनेहरु बीच द्धन्द छ । विकास र समृद्धि चाहनेहरु र नचाहनेहरु बीच द्धन्द छ । राष्ट्रिय सभाको बैठकमा नेकपाकी सदस्य भगवती न्यौपानले यस्तो विचार राखेकी हुन् ।
‘अहिले देशमा निरासा फैलाउने र उत्साह जगाउने बीचमा अन्तरविरोध छ’– उनले भनिन्– ‘अहिले विकास चाहने र नचाहनेबीच द्धन्द छ । समृद्धि चाहने र नचाहनेहरुको बीचमा द्धन्द छ । अहिले देशमा भ्रम सिर्जना गर्न चाहनेहरु र सत्य बोल्नेहरु बीच द्धन्द चलिरहेको छ । राष्ट्रिय सभाले निरासा विरुद्ध आशा जगाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक छ ।’
उनले नेपाली मिडियाले पनि बहसलाई विवाद र आलोचनालाई विरोध भनेर गल्ती गरिरहेको बताइन् । उनले प्रधानमन्त्रीलाई पनि धन्यवाद दिइन्– ‘नेपालको अस्पताललाई विश्वास गरेर, नेपालका स्वास्थ्यकर्मी र प्रविधिमाथि विश्वास गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै मृगौला प्रत्यरोपण गर्नुभएको छ । यसले देशमा सकारात्मक सन्देश प्रवाह गरेको छ । यसका लागि उहाँलाई धन्यवाद दिँदै स्वास्थ्यलाभको कामना गर्दछु ।’
राष्ट्रिय सभालाई आफूले गत दुई वर्षको अवधीमा नियालेर हेरेको उनले बताइन्– ‘मैले राष्ट्रिय सभाको बैठक लाइभमा पनि हेर्ने गरेको थिएँ । राष्ट्रिय सभालाई उच्च गर्वयुक्त बनाउन यसका सदस्यहरुले यो दुई वर्षमा खेलेको भूमिकाको प्रशंसा गर्दछु ।’
‘हामी बहस गर्छाैं तर विवाद भयो भनेर प्रचार गरिन्छ’– उनले भनिन्– ‘विचारमा असहमति राखिन्छ तर त्यसलाई विरोध ठानिन्छ । राष्ट्रिय सभामा बहस भएको देख्छु, विवाद भएको देख्दिन ।’
