काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद् बेदुराम भुसालले जनताको उपलब्धि खोसिन सक्ने आशंका गरेका छन् ।
नेपालीहरुले समाज परिवर्तनका निम्ति संगठित पहल थालेको ९० वर्ष पुगेको बताउँदै उनले भने– ‘जसमध्ये नेपाल कम्युनिष्ट पार्टी स्थापना पछिका ७० वर्षको मेरो अनुसन्धानबाट प्रतिगमन दोहोरिन सक्ने देखिएको छ ।’
भुसालले जनताकाे बहुदलीय जनवादमा विद्यावारिधि गरेका छन् ।
साे अनुसन्धानका क्रममा पश्चगमनका दुई कारण पाएको बताउँदै उनले भने– ‘पहिलो राजनीतिक क्षेत्रमा आएको परिवर्तन अनुसार आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको गति नबढ्नु, दोस्रो राजनीतिक विजयलाई नै सर्वस्व ठान्ने गल्ति गर्नु ।’
राजनीतिक क्षेत्रमा आएको परिर्वतन अनुसार सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण गर्न नसकेका कारण त्यसले प्रतिगमनको आधार तयार हुँदै गएको भुसालको भनाइ छ ।
विगत देखि नै राजनीतिक सफलतालाई नै सम्पूर्ण सफलता ठान्ने र अहम्कारी व्यवहार गर्ने प्रवृत्तिको अन्त्य हुन नसकेका कारण परिर्वतनलाई प्रतिगमनले उल्टाउने गरेको स्मरण गराउँदै उनले भने– ‘वर्तमान अवस्थामा पनि प्रतिगमन दोहोरिने हो कि भन्ने चिन्ता बढेको छ, ।
राजसंस्थावादीहरु फेरि पनि जुर्रमुराउने प्रयास गरिरहेको भन्दै उनले विगतको इतिहास दोहोरिन नदिन सबैलाई सचेत हुन आग्रह गरे ।
भ्रष्टाचारको महारोगबाट सिंगो मुलुक आक्रान्त बनेको भन्दै उनले न्यूनीकरणका लागि थप कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । भ्रष्टाचारबाट मुलुकलाई मुक्त बनाउने बाटोमा सदनको भुमिका केन्द्रित गर्न आग्रह गर्दै उनले भने– ‘देशमा व्याप्त भ्रष्टाचार कोरोना जस्तै खतरनाक भाइरस बनेको छ, न्यूनीकरणका लागि राष्ट्रिय सभाले प्रभावकारी भूमिका खेल्नुपर्छ ।’
देशका सबै समस्याहरुको न्यूनीकरण गर्दै सही बाटोमा लैजान र समाज रुपान्तरणका लागि आवश्यक अभियान थाल्न सरकारलाई सहयोग गर्दे अघि बढ्नुपर्ने उनले बताए ।
१३ वर्षमा सदनमा पुगेकोमा खुसी व्यक्त गर्दै उनले पार्टी र मतदातालाई धन्यवाद् दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यरोपण सफल भएकोमा खुसी व्यक्त गर्दै उनले भने- 'छिट्टै निकाे भएर काममा फर्कनुस् मेराे शुभकामना ।'
