काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भएको भनिएको अनियमिततामा छानविन गर्नुपर्ने निर्णय गरेकाे छ ।
समितिको शुक्रबार बसेको बैठकले यसबारे छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेकाे हाे । सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा जोडिएपछि पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए । मन्त्री बाँस्कोटाले ७० करोड घूस मागेको अडियो सार्वजनिक भएको थियो ।
त्यसपछि समितिले जीटुजी प्रक्रियाबाट प्रेस खरिद प्रक्रिया रोक्न निर्देशन दिएकाे थियाे । समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका सबै प्रक्रिया रोक्न सरकारलाई पुन निर्देशन दिएको छ । समितिले अहिलेसम्मका सबै प्रक्रिया रद्द गरी ग्लोबल टेन्डर गर्न पनि निर्देशन दिएको हो ।
समितिले सेक्युरिटी प्रेस खरिदबारे नयाँ सञ्चारमन्त्री डा. युवराज खतविडा र मुख्यसचिव लोकदर्शन रेग्मीसँग छलफल गर्ने निर्णय समेत गरेको छ ।
समितिका सभापति भरत साहका अनुसार कागजपत्र अध्ययन गरी थप छलफल गर्ने निर्णय समेत समितिले गरेको छ ।
