काठमाडौं । राष्ट्रिय सभा बैठकमा सोमबार विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने कार्यसूची छ ।
दिउँसो बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
मन्त्री भट्टराईले नै ‘नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘अध्यागमन विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ‘पारमाणविक विधेयक, २०७५ माथि छलफल सदनमा गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । ‘पारमाणविक विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठक दिउँसो १ बजे बस्दैछ ।
