काठमाडौं । नेकपाका सांसद् खिमलाल भट्टराईले सुकुम्वासी समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सरकारले आफ्नो कार्यसूचीको पहिलो प्राथमिकतामा सुकुम्वासी वर्गको हितलाई राख्न आवश्यक रहेको बताए । जनतालाई सुकुम्वासी र भुमिहिन राखेर देश समाजवादतर्फ अगाडि बढ्न नसक्ने बताउँदै उनले मुलुकको सुकुम्वासी समस्यालाई जरादेखि नै समाधान गर्न माग गरे ।
सुकुम्वासी समस्या नेपालको क्रोनिक रोग भएको बताउँदै उनले भने– ‘सुकुम्वासी समस्या समाधान गरौं र सुखी नेपाली र समृद्ध नेपाल निर्माणका राष्ट्रिय आकांक्षाको परिपूर्तिमा लागौं ।’
०४८ सालदेखि २८ वर्षको अवधिमा १५ वटा सुकुमवासी समाधान आयोग बने पनि हालसम्म समस्या समाधान नभएको भन्दै उनले गुनासो गरे । उनले भने- ‘अहिले देशमा स्थिर सरकार छ, शान्तिपूर्ण वातावरण छ, कानुन बनेका छन्, त्यसैले याे समस्या समाधान गर्न सहज छ ।’
सुकुम्वासी, भूमिहिन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न नसके सरकारले साेँचेकाे गन्तव्य भेटाउन नसकिने उनकाे भनाइ छ ।
