काठमाडौं । अध्यागमन विधेयक, २०७६ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘अध्यागमन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेर समितिमा पठाएको हो । गृहमन्त्री रामबहादुर थापाका तर्फबाट उनले सो प्रस्ताव पेस गरेका हुन् ।
बैठकले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकले ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
मन्त्री पोखरेलले नै सो विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रिय सभामा उत्पत्ति भएकोे सो विधेयक प्रतिनिधि सभा हुँदै पुन राष्ट्रिय सभामा आएको हो ।
बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले शिक्षासम्बन्धी विभिन्न ऐनमा एकरुपता कायम गर्न विधेयक ल्याइएको बताए ।
नेपालको संविधान अनुकूल बनाउन आवश्यक भएकाले विधेयक ल्याइएको उनले स्पष्ट पारे ।
