काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलमा रहेको बताएको छ ।
सिंहदरबारमा साेमबार पत्रकारसँग भेटमा उनले एमसिसी प्रस्तावका विषयमा गम्भीर ढङ्गले बहस भइरहेको बताए । 'एमसिसी बहसमै छ, कोभिड–१९ का कारणअाेझेलमा परेकाे हाे', उनले भने, 'दलहरुभित्र छलफल भइरहेको छ, समय आएपछि पारित हुन्छ ।'
दलहरुबीच सहमति भएपछि सभामुखले सहजीकरण मात्रै गर्ने उनले जानकारी दिए ।
विद्युत् प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिमा खर्च गर्ने गरी अमेरिकी सरकारले उपलब्ध गराउने उक्त सहयोग ग्रहण गर्ने वा नगर्ने सम्बन्धमा बहस भइरहेको छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसिसी सहयोग लिने/नलिने भन्ने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले एमसिसीका कतिपय प्रावधान संशोधन गरेरमात्र सहयोग ग्रहण गर्न सुझाव दिएको छ ।
चालु अधिवेशनमा आठ विधेयक पारित
सभामुखका अनुसार सङ्घीय संसद्को चालु अधिवेशनमा अहिलेसम्म प्रतिनिधि सभाबाट आठ विधेयक पारित भएका छन् । त्यस्तै ३३ विधेयक प्रक्रियामा, ६ विधेयक दर्ता तथा एक विधेकयमाथि सैद्धान्तिक छलफल भएको छ ।
यस्तै १३ विधेयक विभिन्न समितिमा रहेका, विभिन्न तीन समितिको प्रतिवेदन सभामा पेश, एक सन्धि र दुई जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको सभामुखले जानकारी दिए ।
कोरोना भाइरस सङ्क्रमणको गाम्भीर्यतालाई हेरेर केही दिन सदन स्थगन गरिएको स्पष्ट पार्दै उनले ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए । सभामुख सापकोटाले राज्यका सबै अवयव र जनताको स्तरबाट एकजुट भएर कोरोना विरुद्ध लाग्नुपर्ने अवस्था आएको बताए ।
दलहरुबीच सहमति हुनेबित्तिकै उपसभामुख निर्वाचन
सभामुख सापकोटाले दलहरुबीच सहमति हुनासाथ उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताए । उपसभामुख चुनावका लागि आफूले संसदीय दलका उपनेतासँग कुरा गरिरहेको र यो विषय छलफलमा रहेको पाइएको उनले जानकारी दिए ।
डा शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएसँगै माघदेखि उपसभामुख पद रिक्त छ । उपसभामुखका सम्बन्धमा दलहरुबीचमा सहमति जुट्न सकेको छैन ।
सभामुख सापकोटाले राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा प्रतिनिधि सभा सचिव गोपालनाथ योगीलाई अर्को व्यवस्था नभएसम्मका लागि सङ्घीय संसद्को महासचिवको जिम्मेवारी तोकिएको समेत बताए । 'महासचिवको अनुपस्थितिमा यसअघि पनि उहाँले नै कावा महासचिवका जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो, अध्यक्षसँगको परामर्श र ज्येष्ठताका आधारमा योगीलाई महासचिवको जिम्मेवारी तोकिएको हो', उनले भने ।
प्रतिनिधि सभाका महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि सेवानिवृत्त भएसँगै सभामुख सापकोटाले योगीलाई आजदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म महासचिवको जिम्मेवारीको तोकेका छन् ।
समितिको बैठकमा सहज पहुँच मिलाउँछु
केही संसदीय समितिका बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै सभामुख सापकोटाले त्यसका लागि आफूले छलफल थालेको जानकारी दिए ।
'समितिको बैठकमा सञ्चारकर्मीको सहज पुहँचका लागि म लागेको छु', उनले भने, 'सञ्चारकर्मीलाई पहुँच होस् भन्ने नै हो, यही विषयमा समितिका सभापतिसँग कुरा गर्छु ।'
समितिको कामकारवाहीलाई प्रभावकारी बनाउने विषयमा आफूले यही बुधबार प्रतिनिधि सभाका सबै समिति सभापतिसँग छलफल राखेको जानकारी दिए । आन्तरिक व्यवस्थापनका विषयमा लाग्दा आफूले विभिन्न समितिमा गैरसरकारी संस्थाको पुहँचका बारेमा सोच्न नभ्याएको उनले बताए ।
चालु अधिवेशन अन्त्य गर्ने विषय छलफलकै चरणमा रहेको उनको भनाइ छ ।
रासस
