जनकपुर । कुनै पनि दलको दुईतिहाइ बहुमत नपुगेपछि प्रदेश २ को नाम र राजधानीमा मंगलबार निर्णय नहुने भएको छ ।
अहिलेसम्म दलहरुबीच कुनैपनि प्रस्तावमा सहमति भएको छैन । अहिलेसम्म दुई तिहाइ पुग्ने सम्भावना नदेखिएको प्रदेश सांसद् मञ्जु यादवले सनराइज खबरलाई जानकारी दिइन् ।
उनले भनिन्– ‘अहिलेसम्म दलहरुबीच प्रदेशकाे नाम र राजधानीमा सहमति भएको छैन, आज हुने मतदानमा कुनै प्रस्तावमाथि दुई तिहाइ पुग्ने देखिँदैन ।’
सांसद् यादवले अहिले आएका प्रस्तावहरुमध्ये सहमति जुटाएर अर्को पटक निर्णय गर्नुको विकल्प नरहेको समेत बताइन् ।
सत्तारुढ समाजवादी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम प्रस्ताव गरेका छन् । प्रतिपक्षी नेकपाले ‘जानकी प्रदेश’ र कांग्रेसले ‘मिथिला–भोजपुरा प्रदेश’ नाम प्रस्ताव गरेको छ ।
सर्वसहमति नभए प्रदेशसभामा रहेका सदस्य संख्याको दुईतिहाई बहुमतले प्रदेशको नाम र राजधानी टुंगो लगाउने संवैधानिक प्रावधान छ ।
जस अनुसार दुई तिहाइ पुग्न ७१ को आवश्यक पर्छ । प्रदेशसभामा १ सय ७ जना सांसद छन् । जसमा समाजवादीका ३०, राजपाका २५, प्रमुख प्रतिपक्षी नेकपाका ३२, अर्को प्रतिपक्षी कांग्रेसका १९ र एक स्वतन्त्र सांसद छन् ।
अहिले दलहरुबीच प्रदेशसभामा छलफल जारी छ ।
