काठमाडौं । सांसद्हरुले कोरोना जोखिमबाट बच्न सदनको कामकारबाही रोक्नुपर्ने बताएका छन् ।
मंगलबार संघीय संसद् भवन बाहिर पत्रकारसँग कुरा गर्दै राष्ट्रिय सभाका सांसद्हरुले कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै सदनको काम कारबाही रोक्नुपर्ने बताए ।
सांसद् राधेश्याम अधिकारीले सरकारले सबै भन्दा बढी भीडभाड हुने ठाउँ निषेध गर्नुपर्ने बताए । यसको सुरुआत सदनबाट नै गर्नुपर्ने बताउँदै उनले भने– ‘संदनमा कुनै विजनेश पनि देखिँदैन, तत्काल बन्द गर्नुपर्ने माग उठेको छ, केही गरि तलमाथि भयो भने ठूलो क्षति हुन्छ ।’
सांसद् सुमन प्याकुरेलले नेपालमा कोरोनाको प्रभाव नदेखिए पनि ढुक्क हुने अवस्था नभएको बताए ।
भौतिक, आर्थिक र प्राविधिक हिसाबले नेपालमा संक्रमण देखिएपछि समस्या हुने भन्दै उनले सावधानी अपनाउनुपर्ने बताए । अत्यावश्यक कुरा बन्द गरेर देश नै ठप्प हुने अवस्था आउने भन्दै उनले सदन पनि २, ४ दिनभन्दा बढी नचल्ने बताए ।
सांसद् प्रमिला कुमारीले कोरोना विश्वका धेरै देशमा देखिएको भन्दै नेपालमा संक्रमण हुने कुरा नकार्न नसकिने बताइन् ।
सदनमा कोरोनाका विषयमा निरन्तर छलफल भइरहेको भन्दै उनले ७ गतेसम्म मात्रै सदन चल्न सक्ने बताइन् ।
सांसद् इन्दिरा गौतमले जोखिम नै नभित्रिएपनि सरकारले आफ्नो तर्फबाट तयारी गरिरहेको बताइन् । नदेखिएको अवस्थामै कोरोनाले जोखिम बढ्यो भनेर भन्न नमिल्ने तर सावधानी भने अपनाउनुपर्ने उनको भनाइ छ ।
विश्वका अधिकांश देशमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोना संक्रमण देखिएको छैन ।
कोरोना नदेखिए पनि सरकारले सभा सम्मेलन, धेरे भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । सरकारले समिति नै बनाएर युद्ध स्तरमा सतर्कताका लागि काम गरिरहेको छ ।
