काठमाडौं । बिहीबार बस्ने राष्ट्रिय सभा बैठकमा विभिन्न विधेयक पेस हुने सम्भावित कार्यसूची छ ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ पेस गर्ने छन् । यस्तै तथ्याङ्क विधेयक, २०७६’ बैठकमा पेस हुँदैछ ।
प्रधानमन्त्री ओली बैठकमा सहभागी हुने सम्भावना छैन् । त्यसैले यी दुई विधेयक प्रधानमन्त्री ओलीका तर्फबाट अन्य मन्त्रीले पेस गर्नेछन् । यसअघि पनि प्रधानमन्त्रीका तर्फबाट सदनमा अन्य मन्त्रीले विधेयक पेस गर्दै आएका छन् ।
बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
