काठमाडौं । कांग्रेस सासंद् प्रकाश पन्तले विदेशमा रहेका नेपालीमा कोरोना देखिए सरकारको तयारी के छ भनेर प्रश्न गरेका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले भने – ‘कोरोना विभिन्न देशमा फैलिएको छ, मध्यपूर्वी र खाडीमा रहेका नेपाली घर फर्कन चाहे सरकारको तयारी के छ, जवाफ चाहियो ?’
सांसद् पन्तले प्रश्न गरे– ‘विदेश रहेका नेपाली काेराेनाबाट संक्रमित भए उनीहरुको अभिभावकत्व कसले लिन्छ ? उपचारको जिम्मा कसले लिन्छ ?’ कोरोना जोखिम रोक्न सरकारले राम्रा काम गरेको भन्दै उनले विदेश रहेका नेपालीहरुका बारेमा भने त्यस्तो तयारी नभएको बताए ।
हवाई उडान रद्ध गरेर विदेश रहेका नेपालीलाई रोक लगाउने खाेजिएको समाचार आएको भन्दै उनले भने – ‘यसो हो भने हामी खेद प्रकट गर्छौं, सरकार यसमा गम्भीर बनोस् ।’
नेपाली नागरिकले विदेशबाट पठाएकाे रेमिट्यान्स देशको अर्थतन्त्र धान्ने टेको बनेको बताउँदै उनले भने – ‘पैसा पठाउँदासम्म राम्रै हुने, उनीहरु नेपाल फर्किए भने रोग सार्छन भन्ने सोँच्न थालियो भने निकै घातक हुन्छ, यसतर्फ ध्यानाकर्षण गराउँछु ।’
कोरोना जोखिम रोक्न सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेमा सबै दल सहमत भएको बताउँदै उनले भने– ‘सरकारका पछिल्ला निर्णय सकरात्मक छन्, अझ बढी सतर्कता अपनाउनुपर्छ ।’ कोरोनाका नाममा कालोबजारी बढेको भन्दै पन्तले यसमा सरकारको तयारी फितलो रहेको गुनासाे गरे । ग्यास र पेट्रोलको लाइन बढेको भन्दै यी समस्या सुल्झाउन सरकारकाे ध्यानाकर्षण गराए ।
बालबालिका, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिक कोरोना अझ बढी जोखिममा रहने भन्दै उनले यसमा ध्यान दिन आग्रह गरे ।
