काठमाडौं । विधायन व्यवस्थापन समितिले विशेष अवस्थामा अदालतको अनुमतिबिना पनि फोन ट्यापिङ गर्न मिल्ने प्रावधान सहित विशेष सेवा गठन सम्बन्धी विधेयकमा सहमति गरेको छ ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता लगायत विशेष विषयमा फोन ट्यापिङ गर्न अदालतको अनुमति नचाहिने व्यवस्था गर्दै विधेयकमा सहमति गरेको हो । नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकमा अदालतको अनुमति बिना फोन ट्यापिङ गर्न मिल्ने प्रावधान राखिएको हो ।
सो प्रावधानमा लामो समयदेखि विवाद हुँदै आएको थियो । देशको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्ता विषयमा सरकारले हेर्नुपर्ने भएमा तथा अन्य विशेष कुराहरुका लागि मात्रै फोन ट्यापिङ गर्न सकिने प्रावधान राखिएको समिति सभापति परशुराम मेघी गुरुङले बताए ।
विधेयकमा राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकलाई मात्रै फोन ट्यापिङको अधिकार दिइएको छ । अनुसन्धान निर्देशकले फोन ट्यापिङको आधार र कारण अभिलेखीकरण अनिवार्य गर्नुपर्ने र त्यसलाई अदालतमा प्रमाणका रुपमा कसैले पनि प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ । ट्यापिङ भएको फोनको दुरुपयोग भएमा त्यसलाई दण्डनीय मानिएको छ ।
मेघीले भने– ‘फोन ट्यापिङको कुरा चाहिं खासगरी राष्ट्रको सार्वभौमिकता भौगोलिक अखण्डता, देखि लिएर खास खास कुराहरुको लागि मात्रै त्यो गर्न पाइने छ । त्यो गर्दा पनि सबैले पाउँदैन । मुख्य अनुसन्धान निर्देशकले मात्रै यो काम गर्न पाउँछ । तर त्यसका लागि पनि आधार र कारण अभिलेखिकरण गर्नुपर्छ । त्यसलाई चाहिं कुनै अदालतमा त्यसलाई प्रमाणको रुपमा कोही कसैले प्रयोग गर्न पाउनेछैन् । कही कतैपनि प्रमाणको रुपमा त्यो चिजलाई प्रयोग गर्न नपाइने र त्यसलाई दुरुपयोग गरेमा दण्डनीय हुनेछ । त्यो अवस्थामा उसले अदालतमा आधार र कारण देखाउनुपर्ने हुन्छ । त्यसैले त्यो आधार र कारण पनि के छ भने अदालतको ओभरभ्यु भित्र रहने प्रबन्ध सहित यो कुरालाई प्रबन्ध गरिएको छ ।’’
गुप्तचर निकायलाई प्रभावकारी बनाउने उद्देश्यले ल्याइएको नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकको मुख्य उद्देश्य सूचना संकलन गर्ने हो । तर त्यसको दुरुपयोग हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पदमा रहँदा वा अवकाश पाएपछि पनि सूचना दुरुपयोग गरे कडा सजायको व्यवस्था गरिएको छ ।
‘राष्ट्रको स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, मुलुकको शान्ति सुरक्षासँग सम्बन्धित सूचनाहरु त्यो पदमा रहँदा वा पद भन्दा बाहिर जाँदा पनि त्यसको दुरुपयोग भयो भने चाहिं त्यसलाई सजायको प्रबन्ध अलि कठोर गरिएको अवस्था हो’– उनले भने ।
