काठमाडौं । काेराेनाकाे सम्भावित जोखिमलाई ध्यान दिँदै संघीय संसद्ले विशेष सतर्कता अपनाउन थालेको छ ।
राष्ट्रिय सभा बैठकमा सहभागी हुने सांसद्हरुलाई भवनकाे गेटमै प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको हो । त्यसक्रममा टोलीले सांसद्हरुलाई तापक्रम मापन यन्त्र (टेम्प्रेचर गन) ले तापक्रम परीक्षण गरेकाे थियाे ।
सङ्घीय संसद्कै चिकित्सक टोलीले उनीहरुकाे स्वास्थ्य परीक्षण गरेकाे हाे ।
सांसद् रमेशजङ्ग रायमाझीले सरकारले आफै गरेको निर्णय कार्यान्वयन नहुँदा चेकजाँच गरेर मात्रै संसदभित्र छिर्नुपर्ने अवस्था आएको बताए । सरकारले जनतालाई आतंकित बनाउने निर्णय गर्ने तर कार्यान्वयन नगर्ने आरोप लगाउँदै उनले भने– ‘यो निर्णयले कालोबजारी बढेको छ ।’
सांसद महेशकुमार महराले देशकै सर्वोच्च निकायबाट केही महत्वपूर्ण कानून बनाउनुपर्ने बाध्यताले बैठक सञ्चालन भएको बताए । केही विधेयकहरुलाई बिहीबार र शुक्रबार टुंगो लगाएर सदन बन्द गरी सरकारी निर्णय कार्यान्वयन हुने उनको भनाइ छ ।
सरकारले काेराेनाकाे सम्भावित जोखिमलाई ध्यान दिन एक ठाउँमा २५ जना बढी भेला हुन नपाउने, शैक्षिक संस्था, खेल मैदान, चलचित्रघर, हेल्थ क्लब, डान्सबार, स्विमिङ पुललगायतलाई आगामी वैशाख १८ सम्म बन्द गर्ने निर्णय गरेको थियो ।
काेराेना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले साे निर्णय गरेकाे हाे ।
