काठमाडौं । सांसद्हरुले कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आग्रह गरेका विषय कार्यान्वयन गर्न अपिल गरेका छन् ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने काठमाडौं उपत्यकाका सांसदहरुले कोरोना जोखिम बढ्दै गएका बेला सरकारले लागू गरेका विषय कार्यान्वयन गर्न सबै नागरिकहरुलाई अपिल गरेका हुन् ।
शनिबार काठमाडौंको मण्डीखाटारमा एक सांसदको घरमा भएको भेलाले नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने र त्यसका लागि सरकारले भनेका विषयको पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरेको हो ।
भेलापछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा सांसद् माधवकुमार नेपालले कोरोना जोखिम, सरकारले चालेका कदम, जनतामा जगाउनुपर्ने जनचेतना र संक्रमण भए नियन्त्रण गर्न अपनाउनुपर्ने विषयमा छलफल भएको बताए ।
सरकारले लागू गरेका विषयहरुको कार्यान्वयन गर्न स्थानीय जनप्रतिनिधिहरुलाई परिचालन गर्नुपर्ने बताए । जनताका समस्या र आर्थिक क्षेत्रमा परेको असरको विषयमा सरकारलाई जानकारी गराउने विषयमा समेत छलफल भएको बताए ।
नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरिरहेको कामहरुमा अझ केही प्रभावकारी बनाउनु आग्रह गर्ने विषयमा छलफल भएको बताए ।
नेपाल भारत सीमा नाका बन्द गर्ने, अस्पतालहरुको तयारीका लागि सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गर्ने विषयमा छलफल भएको उनकोे भनाइ छ ।
छलफलमा सांसदहरुले कोरोनाको संक्रमण फैलिन नदिन काठमाडौंभित्रका स्थानीय तहहरुले निर्वाह गरेको भूमिका चित्त बुझ्दो नभएको बताएका थिए ।नागरिकमाथि जनचेतना फैलाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने र राजनीतिक दलहरुले उनीहरुलाई सघाउने विषयमा समेत छलफल भएको थियो ।
सांसद्हरुले कोरोना जोखिम बढ्दै जाँदा अर्थतन्त्रमा देखिने जटिलताका विषयमा सरकारले अहिले देखिनै सम्बोधन गर्नुपर्ने उनीहरुको भनाइ छ ।
