काठमाडौं । चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन भएको छ ।
सोमबार बसेको संसदीय सुनुवाई समितिको बैठकले पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । पाण्डेविरुद्ध कुनै पनि उजुरी नपरेपछि नाम अनुमोदन गरिएको हो ।
सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर उनको ठाउँमा पाण्डेको नाम सिफारिस गरेको थियो । गत फागुन १८ को मन्त्रिपरिषद् बैठकले उनलाई चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस गरेको थियो ।
समितिले फागुन २८ मा पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । तर, आइतबारसम्म उजुरी नपरेपछि साेमबार पाण्डेकाे नाम अनुमाेदन गरिएकाे हाे ।
अनुमोदित भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई राजदूत नियुक्त गर्नेछिन् ।
