काठमाडौं । संघीय संसदको पाँचौं (हिउँदे) अधिवेशन अन्त्य भएको छ ।
संसद् सचिवालयले सोमबार सूचना टाँसेर सोमबार राति १२ बजेदेखि अधिवेशन अन्त्य हुने जानकारी दिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्यसम्बन्धी पत्र संसद सचिवालयमा पठाएकी कार्यवाहक महासचिव गोपालनाथ योगीले निकालेकाे सूचनामा उल्लेख छ ।
उनले लेखेका छन् - 'चालू अधिवेशन स्वतः अन्त्य भएकाले यही चैत २१ गते सूचना प्रकाशित गरी स्थगित गरिएको प्रतिनिधि सभा र यही चैत ७ गते स्थगित गरिएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य भएको छ ।'
संविधान अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।
गत ४ पुसबाट सुरु भएको अधिवेशन एक सय १० दिन चल्यो । यो अधिवेशनमा सदनबाट शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक र राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रणसम्बन्धी विधेयक पारित भए ।
याे अधिवेशनमा मिडिया काउन्सिल विधेयक र नेपाल विशेष सेवा (प्रतिगुप्तचरी) विधेयक निकै चर्चामा रहे । कोरोनासम्बन्धी सार्वजनिक महत्वको विषयमा छलफल भयाे । केही संकल्प प्रस्ताव पारित भए ।
सभामुखकाे राजीनामा र नियुक्ति लगायत कारणले जारी अधिवेशनमा धेरै काम भएनन् । प्रतिनिधि सभाको उपसभामुख पद माघ ६ मा रिक्त भएको थियो तर यो अधिवेशनमा उपसभामुख चयन गर्न सकेन ।
काेराेना जाेखिम हुने भन्दै सांसदहरुले अधिवेशन अन्त्यका लागि माग गर्दै आएका थिए ।
