काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसद्हरुले कोरोना भाइरस रोकथामबारे छलफल गरेका छन् । भिडियो कन्फ्रेन्स मार्फत बसेको बैठकमा सांसद्हरुले सीमा नाकाको व्यवस्थापन, काेराेना नमुना जाँचको दायरा बढाउनुपर्ने सुझाव दिए ।
बैठकमा सांसद् खगराज बरालले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) समितिमा औषधि विज्ञ, ल्याव विज्ञ र जनस्वास्थ्य विज्ञलाई समेत सहभागी गराउनुपर्ने बताए । मन्त्रालयको काम चुस्त दुरुस्त राख्न जरुरी रहेकाले भएका कमिकमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।
सरकारी र निजी अस्पताललाई, चिकित्सकहरुलाई अभियानमा सहभागी हुन आह्वान गर्नुपर्ने र पीसीआर मेसिनबाट परीक्षण दायरा बढाउनुपर्ने उनले बताए ।
सांसद् गगन थापाले भारतमा लकडाउन खुकुलो हुनासाथ नेपाली भित्रिनेको संख्या बढ्ने भएकाले सीमा नाका र क्वारेन्टाइन व्यवस्थापनको योजना अहिले नै बनाएर लागू गर्नुपर्ने बताए । सरकारले सडक सुधारको कामलाई तिब्रता दिएजस्तै गरी तीन महिनापछि आउन सक्ने संकटको अवस्थालाई ध्यान दिँदै काम अगाडि बढाउनुपर्ने थापाले बताए ।
पर्याप्त स्वास्थ्य उपकरणको व्यवस्था गर्नुपर्ने र नियमित स्वास्थ्य सेवा प्रभावित नहुनेगरी अगाडि बढ्नुपर्ने सुझाव थापाले दिए । राहत प्याकेजमा चामल र दाल मात्रै नभएर ज्यालादारी गर्दै आएकाहरुका लागि औषधिको व्यवस्था पनि गर्नुपर्ने सुझाव समेत उनले दिए ।
काठमाडौंमा उपलब्ध सांसदहरु भिडियो कन्फ्ररेन्समा सहभागी भएका थिए । काठमाडौं उपत्यका बाहिर र उपत्यकामै भएर पनि लक डाउनले सिंहदरबार आउन नसकेका सांसदहरु भर्चुअल रुपमा बैठकमा सहभागी भएका थिए ।
सांसद्हरुका सुझाव सरकारसमक्ष पेस गर्ने निश्कर्ष निकालिएको समिति सभापति जयपुरी घर्तिले बताइन् ।
