काठमाडाैं । संसदीय समितिले कोरोना राेकथामका लागि लकडाउनबारे सरकार र सम्बन्धित निकायलाई १२ बुँदे निर्देशन दिएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिकाे भर्चुहल बैठकले लकडाउनमा कारण विपद्मा परेका मजदूर तथा सर्वसाधारणका समस्यालाई स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनमार्फत तत्काल सम्बोधन गर्न निर्देशन दिएकाे छ ।
समितिले कोरोना जाँचकाे दायरा बढाएर प्रभावित क्षेत्रको यथाशीघ्र पहिचान गरी आवश्यक व्यवस्थापन गर्नुपर्ने, स्थानीय आपूर्ति व्यवस्थापनलाई सहज र सुलभ बनाउनुपर्ने निर्देशन दिइएकाे छ । विदेशमा रहेका नेपालीको अवस्थालाई ध्यान दिँदै उनीहरुको स्वास्थ्य र सुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्ने, दुई देशबीचको सिमाना कडा निगरानीसहितको व्यवस्थापन गर्नुपर्ने निर्देशन पनि समितिले दिएको छ ।
बैठकले वर्तमान परिस्थितिलाई ध्यानमा राखी आगामी बजेटमा मजदूर, किसान तथा आम सर्वसाधारण र उद्योगीहरुको उपयुक्त सम्बोधन गर्नुपर्ने निर्देशन दिएको छ ।
स्वास्थ्यकर्मीको विशेष योगदानको कदर गर्दै पर्याप्त सामग्री तथा निजहरुलाई प्रोत्साहनको व्यवस्था गर्नुपर्ने, आगामी बजेटमा सांसद विकास कोषको खर्च स्थानीय उद्योग तथा रोजगार प्रवद्र्धनमा खर्च गर्न व्यवस्था मिलाउनुपर्ने पनि समितिकाे निर्देशन छ ।
समितिले क्वारेन्टाइन स्थलको अनुगमन गरी उचित प्रबन्ध गर्नुपर्ने, किसानको बाली लगाउने र भित्र्याउने समय भएको हुँदा लकडाउनको छनोट नीति लागू गर्नुपर्ने र छनोट नीतिमा साना–ठूला परियोजना एवं उद्योगधन्दालाई सम्बोधन गर्नुपर्ने छ ।
समितिका सभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा साे बैठक बसेकाे हाे ।
रासस
