काठमाडौं । सांसद्हरुले स्थानीय तहलाई आवश्यक स्रोत साधन दिएर कोरोनाविरुद्धकाे अभियानमा परिचालन गर्नुपर्ने बन्ताएका छन् ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा लकडाउनले मात्रै सम्पूर्ण समस्या समाधान नहुने भन्दै सांसद्हरुले राहत वितरण र पहिचानका लागि स्थानीय तहलाई चलायमान बनाउनुपर्ने बताए ।
सांसदहरुले परीक्षणको दायरा बढाउन समेत सुझाव दिए ।
बैठकमा समिति सभापति दिल कुमारी रावल थापाले कोरोना भाइरस नियन्त्रणका लागि पहिलो पंक्तिमा बस्ने स्थानीय सरकारलाई स्रोत साधन सम्पन्न बनाउनुपर्ने बताइन् ।
राहत वितरण र पहिचानका लागि स्थानीय सरकारलाई परिचालन गर्नुपर्ने नीति अवलम्बन गर्न उनले सरकारसँग आग्रह गरिन् । टोलटोलमा स्थानीय सरकारको पहुँच भएका कारण परिचालन गर्नुपर्ने उनको भनाई छ ।
केही प्राइभेट अस्पतालहरुले ढोका बन्द गरेर इमेरजेन्सीमा मात्रै बिरामी लिने र टिकट पनि महंगो भएको गुनासो आएकाले यसतर्फ पनि सरकारको ध्यान जानुपर्ने उनले बताइन् ।
सांसद् अनिता देवकोटाले राहत वितरण सामाजिक दूरी कायम गर्दै वितरण गर्नुपर्ने, सम्बन्धित वर्गको अभिलेख तयार राख्नुपर्ने र परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिइन् । सबै प्रदेशहरुमा आवश्यक पर्याप्त स्वास्थ्य उपकरणहरु पुग्न नसकेको भन्दै उनले लकडाउनसँगै परीक्षणको दायरा बढाएमात्रै कोरोना नियन्त्रणमा सफल भइने बताइन् ।
सांसद कोमल वलीले प्रदेशहरुमा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको बताइन् । प्रदेश नम्बर ५ मा संक्रमित नभेटिएकाले डाराउनुपर्ने अवस्था नभएपिन सागम्री अभाव भएको गुनासो आएको उनको भनाइ छ । प्रदेश सरकारले करारमा चिकित्सक भर्ना गरी राहतमा रोजगारी कार्यक्रम सञ्चालन गरेको पनि उनले जानकारी दिइन् ।
सांसद् खिमलाल भट्टराईले उपत्यका लगायत अन्य ठूला सहरबाट घर जानेहरुलाई सुरक्षित रुपमा घर जाने व्यवस्था मिलाउनुपर्ने बताइन् । संक्रमण फैलिनबाट रोक्न जहाँ छ त्यही बस्नुपर्छ भन्ने सरकारको नीति राम्रो भएपनि खाना र बस्नको उचित व्यवस्थान हुन नसकेको उनले बताए ।
देशभित्र नियन्त्रणको काममा सरकारले राम्रो प्रयास गरेपनि देशबाहिर रहेका नागरिकहरुको गुनासो पनि सुन्नुपर्ने उनको भनाइ छ ।
बैठकमा उपस्थित सांसदहरुले आफ्नो क्षेत्रको समस्या, कोरोना नियन्त्रणका लागि भएका भएका प्रयास र सरकारले गर्नुपर्ने काम बारेमा आफ्नो विचार राखेका थिए । कृषि क्षेत्रलाई समेत आवश्यक सुरक्षा संयन्त्र अपनाएर चलायमान बनाउन आवश्यक रहेको सांसदहरुको भनाइ थियो ।
बैठक एक अर्काबीचकाे भाैतिक दूरी कायम गरेर बसेकाे थियाे ।
यसैबीच राष्ट्रिय सभाको दिगो विकास समितिले कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रीत गर्न सरकारलाई निर्देशन दिएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम रहेका बेला महामारी नियन्त्रणका लागि अन्यन्त्र ध्यान नदिन समितिले निर्देशन दिएको हो ।
सबै एकजुट भएर काम गर्नुबाहेक अन्य विकल्प नभएको समिति सभापति तारादेवी भट्टले बताइन् । सरकारको ध्यान कोरोना रोकथाममा मात्रै हुनुपर्ने उनको भनाइ छ ।
संविधान र जनताको इच्छाविपरित जाने अधिकार कसैलाई पनि नभएको भन्दैै समिति सभापति भट्टले सरकारलाई कोरोना नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न निर्देशन दिइन् । उनले भनिन्– ‘एकजुट भएर काम गर्ने बेला हो, हाम्रो फोकस काेराेना राेकथाम हो,यस्तो बेलामा गुट, टुटफुटको अवस्था हुनुहुँदैन् ।’
बैठकमा सांसद् दिनानाथ शर्माले सीमानामा रहेका नागरिकहरुलाई सुरक्षित रुपमा देश भित्र्याउन माग गरे । जनताको भोट र नोट (रोमिट्यान्स) लिने सरकारले उनीहरुको जीवनमाथि खेलवाड गर्न नहुने उनले बताए ।
सांसद शारदा भट्टले महामारीको समयमा राहत वितरणमा पक्षपात भएको र कुहिएको चामल वितरण भएका खवर आएकाले यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताइन् ।
सांसद गंगा कुमारी बेल्बासेले विश्वका अरु देशको अवस्था हेर्दा नेपाला कोरोना नियन्त्रणको अभ्यास र प्रयास राम्रो भएको बताइन । विश्वका शक्तिशाली मुलुकहरुमा भयावह अवस्था हुँदा नेपालमा त्यस्तो अवस्था नभएकाले सबैलाई आत्मबल मिलेको उनको भनाइ छ ।
सांसद विमला राई पौडेलले लक डाउनका कारण अत्यावश्यक काममा हिडेका सर्वसाधारणलाई समस्या भएको बताइन् ।
समितिले सुदूरपश्चिमका विकट जिल्लामा कीटको अभाव भएको, स्वास्थ्यकर्मीहरुका लागि अति आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएको बताएको छ ।
सरकारले सुदूरपश्चिममा ३३ जना चिकित्सकहरु पठाएपनि बाजुरामा एक जना चिकित्सक पनि नपुगेको प्रति समितिले सरकारको ध्यानाकर्षण गराएको छ । यसअघि बाजुराका विकट गाउँपालिकामा नियुक्ति लिएका चिकित्सकपनि त्यहाँ जान नमानेको प्रति समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।
स्थानीय तहका अस्पताल र अन्य स्वास्थ्य संस्थाहरुको भौतिक संरचना पर्याप्त नभएको र केही स्थानीय तहहरुले कुहिएको खाद्यान्न वितरण गरेको तथा कम तौल भएका खाद्य पदार्थ वितरण गरेको गुनासोहरु आएको प्रति पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ
