काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक सञ्चालनका लागि तयारी तीब्र पारिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २६ वैशाखका लागि बर्खे बजेट अधिवेशन आह्यवान गरेकी छिन् ।
कोरोना संक्रमणका बेला कसरी सदन चलाउने भनेर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सभामुख अग्निप्रसाद सापकोटाले सरोकारवालाहरुसँग छलफल तीब्र पारेका छन् ।
सोमबार तिमिल्सिना र सापकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे र सीभिल अस्पताल काठमाडौंका निर्देशक डा. दिर्घराज आर सीसँग छलफल गरेका छन् ।
संघीय संसद्को बैठकलाई कोरोना संक्रमणबाट सुरक्षित बनाउन अपनाउन सकिने उपायबारे छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।
बैठक सञ्चालनका लागि संघीय संसद् अन्तरगतका सभाहलहरुमा सांसद्हरुका लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार सामाजिक दुरी कायम हुनेगरी बसाई व्यवस्थापनको काम भइरहेको छ ।
गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक कक्षको व्यवस्थापनमा भइरहेको कामबारे अवलोकन गरेका थिए ।
