काठमाडौं । संघीय संसद्का दुवै सदनको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।
त्यसअघि राष्ट्रिय सभा अध्यक्ष, सभामुख,सांसद्हरुको कोरोना परीक्षण थालिएको छ । पीसीआर बिधिबाट काेराेना परीक्षणका गर्न बिहीबार बिहान १० बजेदेखि उनीहरुको थ्रोट स्वाब लिन सुरु गरिएको हो ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसाे २ बजेसम्म उनीहरुकाे स्वाब संकलन गरिनेछ ।
सभामुख अग्निप्रसाद सापकोटाको स्वाब स्वास्थ्यकर्मीहरुले संकलन गरिसकेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन् ।
न्यौपानेका अनुसार राष्ट्रिय सभाका सांसद्हरुको स्वाब संकलन भइसकेको छ । प्रतिनिधि सभाका सांसद्काे स्वाब लिने काम जारी छ ।
कोरोना संक्रमण फैलिएका बेला जिल्ला बाहिर गएका सांसदहरुमा पनि संक्रमण हुन सक्ने शंकामा परीक्षण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
मंगलबार बसेको कार्य व्यवस्था परामर्श समितिकाे बैठकले सांसद्हरुको अनिवार्य रकोरोना परीक्षण गराउने निर्णय गरेको थियो ।
यस्तै मन्त्रीहरु, संसद्मा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको पनि काेराेना परीक्षण हुने बताइएको छ ।
