काठमाडौं । कोरोना परीक्षणका लागि संघीय संस्दको दुवै सदनका सांसद् लगायत ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।
शुक्रबारदेखि सुरु हुने संघीय संसद्का दुवै सदनको बजेट अधिवेशन अघि बिहीबार उनीहरुको स्वाब लिइएको हो ।
सभामुख अग्नि प्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार प्रतिनिधि सभाका १ सय ७९ र राष्टिय सभाका ३३ जना सांसद्को स्वाब संकलन गरिएको हो ।
त्यस्तै कर्मचारी र मर्यादापालक गरेर २ सय २९ जनाको पनि स्वाब संकलन गरिएको छ । बाँकी सांसद्, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण शुक्रबार बिहान ८ देखि १० बजे सम्म संघीय संस् भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरिने छ ।
अधिवेशन शुक्रबार अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
अधिवेशन सुरु हुनुअघि कोरोना संक्रमणबाट जोगिन सदनको बैठक कक्षमा विशेष सुरक्षा सतर्कता अपनाएर सोही अनुसार व्यवस्थापन गरिएको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र सभामुख सापकोटाले बिहीबार बैठक कक्षको अवलोकन गरेका छन् ।
