काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सकारात्मक खालको भाषण विरलै गर्छन् । देशमा घृणानिन्दा फैलाउने अभियान चलाइरहेका बाबुरामले आज प्रतिनिधि सभा बैठकमा फरक खालको भाषण गरेका छन् ।
मुलुकमा जातीय–सामाजिक सद्भाव भड्काउन, देशको अखण्डतालाई प्रहार गर्न सामाजिक सञ्जालमा सक्रिय रहँदै आएका डा. भट्टराईले बैठकमा केही शालिन पाराको भाषण गरेका छन् । सामाजिक सञ्जालमा बाबुराम जुन उग्र शैलीमा प्रस्तुत हुँदै आएका थिए, आजको भाषण त्यो शैलीमा गरेनन् ।
देशमा अहिलेसम्म ३८ जना प्रधानमन्त्री भएको बताउँदै उनले भने– ‘हामी पूर्व प्रधानमन्त्रीहरुले लालच नराखौं, फेरि प्रधानमन्त्री नबनौं ।’
प्रधानमन्त्री केपी ओली विरुद्ध पनि उग्र घृणानिन्दा व्यक्त गर्दै आएका भट्टराईले भने– ‘सम्माननीय प्रधानमन्त्रीज्यूले जुन खालको उचाई प्राप्त गर्नुभएको छ त्यसमा कायम रहनुस् ’
तर, डा. भट्टराईले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने भने बताए । राजीनामा दिएपछि पार्टीभित्रकै असल मानिसलाई अगाडि बढाउनुपर्ने सुझाव पनि उनले दिए । तर, नेकपाभित्रको असल मानिस को हो भन्ने उनले खुलाएनन् ।
हामी सबै देशभक्त हौं । अर्काको राष्टभक्तीमा प्रश्न नउठाऔं । भूराजनीति अत्यन्तै मुखरित भएर आउनेवाला छ ।
‘हामीले बोलेका कुरा कसैले विश्वास गर्दैन’– बाबुरामले भने– ‘राजनीतिकर्मी सांसद् भनेका अत्यन्तै पदलोलुप भन्ने परेको छ । राजनीतिप्रति नै वितृष्णा पैदा भयो भने खतरा हुन्छ । त्यसैले राजनीतिलाई ठिक ट्रयाकमा ल्याउनुपर्छ ।’
प्रधानमन्त्रीले पार्टी फुटाउने विधेयक ल्याएको भन्दै उनले सांसद् अपहरण अत्यन्तै गम्भीर प्रकृतिको घटना भएको बताए । उनले भने’ ‘आपसी आरोप प्रत्यारोपभन्दा आत्मनिरीक्षण गरौं ।’
कोरोना महामारीको सामना गर्न सरकारको तयारी नपुगेको उनले बताए । आफू फेसबुक ट्वीटरमा सक्रिय रहेको जानकारी दिँदै डा. भट्टराईले विभिन्न देशमा रहेका नेपालीहरुले आफूलाई फोन गरेर आफ्नो अवस्थाबारे बताउने गरेको जानकारी दिए । एसईई परीक्षा आवश्यक नभएको पनि उनले बताए ।
