काठमाडौं । राष्ट्रिय सभाका सांसद्ले नेपालमा पीसीआर परीक्षणको दायरा बढाउन सरकासँग माग गरेका छन् । शुक्रबारबाट सुरु राष्ट्रिय सभाको छैठौं अधिवेशनमा बाेल्ने सांसद्हरुले पीसीआर परीक्षण न्यून रुपमा भएकाे भन्दै दायरा बढाउन माग गरेका हुन् ।
विदेशमा रहेका नेपालीहरुको उचित व्यवस्थापनसहित उद्धार गर्न पनि उनीहरुले माग गरे । विदेशमा रहेका नेपालीहरु समस्यामा परेकाले उद्धारका लागि सरकारसँग माग गरेका हुन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले पीसीआर परीक्षणलाई व्यापक बनाउन सरकारसँग आग्रह गरे ।
भारतीय सीमा क्षेत्रमा नेपाली नागरिकहरु अलपत्र परेको, उपचार तथा श्रम गर्न गएका नागरिकहरु भारत मै अलपत्र रहेकाले उनीहरुको उद्धारका लागि ध्यान दिन पनि उनले आग्रह गरे ।
आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई परिवर्तित परिस्थिति अनुसार ल्याउनुपर्नै बताउँदै उनले भने –‘१० औं लाख युवाहरु विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किने भएकाले उनीहरुको व्यवस्थापन हुनेगरी बजेट आउनेमा म विश्वस्त छु ।’
नेपाली कांग्रेस राष्ट्रिय सभा दलका नेता राधेश्याम अधिकारीले कोरोना महामारीका कारण मुलुकको अवस्था अन्यौलग्रस्त बनेको भन्दै स्वास्थ्य सामग्री अभावमा पर्याप्त परीक्षण हुन नसकेको बताए ।
सरकारले नागरिकको स्वदेश फर्किने पाउने अधिकारमाथि अवैध बन्देज लगाएको आरोप सांसद अधिकारीले लगाए ।
लकडाउनको डेढ महिना वितेपनि पर्याप्त स्वास्थ्य सामग्री ल्याउन नसक्नु, सामान खरिदमा अनियमितताका कुरा बाहिर आउनु दुःखद भएकोले दैव भरोसा बाँच्नुपरेको उनको भनाइ छ ।
एसईई लगायत परीक्षा सञ्चालनको विषयमा समेत प्रष्ट पार्न पनि उनले सरकारको ध्यानकर्षण गराए ।
आगामी आर्थिक वर्षको बजेट कृषिलाई टेवा पुग्ने गरी ल्याउन नसकिए भोकमरीको समस्या हुन सक्ने भन्दै उनले विदेशबाट आउने श्रमिकलाई ध्यान दिएर आगामी योजना बनाउन पनि सरकारलाई आग्रह गरे ।
त्यसैगरी जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता प्रमिला कुमारीले कोरोना रोकथामका लागि सरकारले छुट्टै ऐन कानून बनाएर अगाडि बढ्नुपर्ने बताइन् ।
उनले राहत वितरण कार्यकर्तामुखी भएको, विदेशमा रहेका नेपालीहरुको समस्या सम्बोधन गर्नुको सट्टा सरकार कमिसनमा रमाएको आरोप समेत लगाइन् ।
कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुको मासिक तलब दोब्बर बनाउनुपर्ने, जीवन बिमाको व्यवस्था र आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरिन् ।
