काठमाडौं । जनता समाजवादीका पार्टी राजेन्द्र महतोले दुई तिहाइको सरकारले जनताका लागि केही नगरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दुई तिहाईको सरकारले कोरोेना संक्रमणबाट जोगाउन दुई कौडीको काम गर्न नसकेको आरोप लगाए । उनले भने–‘दुई तिहाइको सरकारबाट जनताले के पाए ? सरकारले जनता जोगाउने चाहेको छैन ।’
एकै घरमा १७ जना कोरोना संक्रमित भेटिंदा पनि सरकारले सामान्य रुपमा लिएको बताउँदै उनले पर्याप्त कोरोना परीक्षण नभएको बताए ।
उनले भने– ‘दलका नेताले भन्दियो १०१ न हो संक्रमित, अहिलेसम्म कतिको गर्यो जाँच ? विदेशबाट आएका जतिको जाँच गर्यो ? छैन, एउटा परिवारबाट १७ निस्कन्छ व्यापक रुपमा जाँच गरेपो थाहा हुन्थ्यो, जाँचै नगर्ने र छैन भन्ने हो ?’
कछुवाको गतिमा कोरोना टेस्ट गरेर सरकारले छैन भन्न नमिल्ने बताउँदै उनले भने–‘यो धन्दा ठीक भएन, व्यापक रुपमा परीक्षण गर्नु पर्याे ।’
विदेशमा रहेका नेपालीलाई ल्याएर क्वारेन्टाइनमा राख्न माग गर्दै उनले भने- 'हामी कहाँ माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई भन्ने हो, सीमा क्षेत्रमा बसिरहेको जनता कसले ल्याउने सी चिनफिङलाई भन्ने ? ट्रम्पलाई भन्ने ?
कोरोना महामारीका बेला सांसद् अपहरण गर्ने, पार्टी फुटाउने, विपक्षी तह लगाउने र कुर्सी जोगाउने खेलमा सरकार लागेको अाराेप पनि उनले लगाए ।
जनता खाना नपाएर पीडित बनेका बेला सरकार अर्को धन्दामा लागेकाे आरोप लगाउँदै उनले भने– ‘पार्टी फोर्ने सांसद चोर्न, सांसद अपहरण गराउने, अपहरणकारीलाई कारबाही गर भने जाँदा निवेदन नलिने ? यो हुकिमी शासन हो ? हुकम आएको होला नी कतैबाट, यही धन्दा गर्ने हो ?’
अप्ठ्यारो परेका बेला सरकारबाट जनताले सुरक्षा र राहत खोजेको भन्दै उनले सरकार काम न काजको भएको आरोप लगाए । सांसद विकास कोष काट्न र सारा बजेट जनता जोगाउन लगाउन सरकारलाई आग्रह गर्दै उनले भने– ‘अहिले विकास चाहिएको छैन, जनता जोगाउ ।’
सरकारले आफ्नो पार्टी फुटाउने प्रयास गरेको उनले भने– ‘हाम्रो पार्टी पनि फुटाउने र आफ्नो मिलाउने अनि कुर्सी जोगाउने रे ? के हो यो ? रातारात सरप्राइज ? हामीले पनि सरप्राइज दियौं । रातारात पार्टी एक बनाइदियौं, अब लु फोर पार्टी ।’
महतोले लकडाउन अहिलेको बाध्यकारी तथा पीडादायी अवस्था भएको बताए । यी कुरा दोहोर्याउँदिन भन्दै पटक पटक बोलेका महतोले रेशम चौधरी, निर्मला बलात्कार काण्ड र संविधान संसाेधन कुरा पनि उठाए ।
उनले भने- ‘निर्वाचित सांसद किन रिहा भएन ?, संविधान संशाेधन, निर्मला बलात्कार काण्ड आज म यी कुनै कुरा उठाउँदिनँ, एउटा कुरा मात्र उठाउन मन लागेको छ, नेपाली जनता अहिले संकटमा छ,सरकार उसको रक्षा गर ।’
