काठमाडौं । छैटाैं अधिवेशन सुरु भएकाे दिन राष्ट्रिय सभामा तीनवटा अध्यादेश पेेस भएका छन् ।
शुक्रबारकाे पहिलाे बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७’ पेस गरिन् ।
गृहमन्त्री रामबहादुर थापाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश र २०७७’, ‘राजनीतिक दलसम्बन्धी (दोस्रो) अध्यादेश, २०७७’ पेस गरे । प्रधानमन्त्रीका तर्फबाट उनले ती अध्यादेश पेस गरेका हुन् ।
बैठकले पहिलो संविधानसभा सदस्य प्राडा.विश्वनाथप्रसाद अग्रवाल र शिवनारायण उराँवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली जनता दलका तर्फबाट संविधानसभा सदस्य रहेका अग्रवालको गत फागुनमा ७५ वर्षकाे उमेरमा निधन भएको थियो ।
यस्तै कांग्रेसका तर्फबाट संविधानसभा सदस्य रहेका उराँवको ६१ वर्षका उमेरमा यही वैशाखमा निधन भएको थियाे। बैठकले उनीहरु दुवैको निधनप्रति शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख २८ बस्नेछ । साेहि दिनदेखि बैठकमा प्री-बजेट छलफल सुरु हुने बताइएकाे छ ।
