काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा रक्षाका लागि सरकारले सबै संयन्त्र परिचालन गर्ने बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा आइतबार सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सबैका सुझावलाई समेटेर सीमा रक्षाका लागि लड्ने बताए ।
सीमाना मिचिएको विषयलाई प्रतिशतमा हेर्न नमिल्ने बताउँदै उनले भने–‘मुलुकको सीमाना ९० प्रतिशत मिलेको १० प्रतिशत नमिलेको भनेर खण्डीकरण गर्न मिल्दैन ।’
सरकार मिचिएको भूमि फिर्ताका लागि लडिरहेको बताए ।
सीमा समस्या समाधान गर्न भारतसामू नेपालले सम्झौतारहित अडान राख्ने बताउँदै मन्त्री ज्ञवालीले भने- ‘यो समस्याको हामीले कूटनीतिक समाधान चाहेका छौं, सम्झौतारहित अडान राखिनेछ, सँगै असल छिमेकी र मित्रता कायम राखिनेछ ।’
मन्त्री ज्ञवालीले सुगौली सन्धीले सीमा निर्धारण गरेको र त्यसपछि कुनै सन्धी नभएको समेत सदनलाई जानकारी गराए ।
राष्ट्रियताको विषयलाई राजीतिकरण गर्न नहुने भन्दै उनले सीमाना साझा समस्या भएकाले यसमा सत्ता र प्रतिपक्ष भन्न नहुने बताए ।
सीमा अतिक्रमण र नेपाली भूमिमा भारतले सडक बनाएपछि सबै दलले राष्ट्रिय हितका पक्षमा कुरा गरेकोमा धन्यवाद् दिँदै उनले भने- 'सरकारले यस्तै सहयाेग खाेजेकाे हाे, सिंगो देश यसमा एकतावद्ध छ ।’
सीमा विवादमा नेपाल–भारत संयुक्त आयोगले काम गर्दै आएको उनले जानकारी दिए ।
उनले भने–‘आयोगले १ सय ९२ थान प्रतिवेदन तयार पारेको थियो, सुस्ताको गर्लाङदेखि नापी भएन, सन् २०१४ मा दुई देशका सरकारबीच परराष्ट्र सचिवस्तरमा भारतले हस्ताक्षर गरौं भन्दै आएको छ तर, हामी मानेका छैनौं ।’
मन्त्री ज्ञवालीले सुस्ता र कालापानी क्षेत्रको समस्या समाधान नभएसम्म भारतसँग हस्ताक्षर नगरिने अडान सरकारले राखेको बताए । भारतीय सेना फिर्ताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक र सार्वजनिक रुपमा आग्रह गरिसकेको पनि मन्त्री ज्ञवालीले जनाकारी दिए ।
सरकारले शनिबार विज्ञप्ति जारी गरेपछि भारतीय विदेश मन्त्रालयले काेराेनापछि छलफल गर्ने बताएकाे जानकारी दिए । सीमा विवादबारे फेब्रुअरीमै दुवै देशबीच बैठक बस्ने भनिएकाेमा काेराेनाले राेकिएकाे पनि बताए ।
अहिले नक्साको विषयमा सबैको निर्देशन अनुसार सरकारले काम गरिरहेको बताउँदै प्राविधिक पक्षको अध्ययन गरेर नक्सा सार्वनिक गरिने बताए ।
०३२ सालदेखि प्रचलनमा ल्याएको नक्सा अहिले प्रयोग भइरहेको भन्दै उनले वर्तमान सरकारले मात्र प्रचलनमा नल्याएको स्ष्पट पारे । कांग्रेस सांसद् पुष्पा भुसालले नक्साबारे प्रश्न उठाएकी थिइन् ।
लिपुलेकबारे चीनलाई पत्राचार गरेर प्रष्ट पारिएको पनि उनले बताए ।
