काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीबाट आगामी दिनमा नागरिकको जीवन रक्षा गर्ने गरी बजेट ल्याइने बताएका छन् ।
आर्थिक वर्ष २०७७-७८ को बजेटका सिद्धान्त तथा प्राथमिकता प्रतिनिधि सभामा प्रस्तुत गर्दै उनले कोरोनाका कारण अर्थतन्त्रमा पारेको प्रभाव अन्त्य गरेर आर्थिक गतिविधि अगाडि बढाउने गरी बजेट ल्याइने बताए ।
विकास, सुशासन र समृद्धिको यात्रामा प्राप्त उपलब्धिलाई संस्थागत गर्दे कोरोना महामारीबाट नागरिकको जीवन रक्षा गर्न गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गरिने मन्त्री खतिवडाले बताए ।
भविष्यमा आउन सक्ने विपद्को पूर्व तयारी र व्यवस्थापन गर्ने कार्यतर्फ आगामी वर्षको बजेटले पर्याप्त ध्यान दिन खतिवडाले बताए ।
उनले भने– ‘कोरोना नियन्त्रण गर्न चालिएका कदमबाट अर्थतन्त्रमा देखा परेका शिथिलताको अन्त्य गर्दै आर्थिक गतिविधिलाई नयाँ विश्वास, जागरण क्रियाशीलता र द्रुत गति साथ अघि बढाउने र स्थायित्व सहितको उच्च आर्थिक वृद्धिदरको चरणमा शीघ्र प्रवेश गर्ने गरी अर्थतन्त्रलाई थप गतिशिल बनाउने तर्फ बजेत केन्द्रित हुनेछ ।’
आगामी बजेट संविधानले परिलक्षित गरेको लोककल्याण्कारी राज्य निर्माणका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागीतामा सामाजिक न्यायसहितको तीव्र आर्थिक विकास तथा सबै प्रकारका असमानता अन्त्य गर्दै समाजवादन्मुख, आत्मनिर्भर उन्नतशील, स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुनेछ ।
उच्च आर्थिक वृद्धि हासिल
कोरोनाका कारण अर्थतन्त्र तहसनहस भएको बताउँदै उनले आगामी आर्थिक वर्ष उच्च आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याइने बताए । लोक कल्याणकारी र राज्यको दायित्व निर्वाह गर्ने दृष्टिकोणबाट आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने बताए ।
भूकम्पपछि छिट्टै उठेझैं कोरोनाबाट पनि फेरी उठ्ने गरी बजेट आउने खतिवडाले बताए ।
विदेशबाट फर्केकालाई स्वदेशमा नै रोजगारी दिने
मन्त्री खतिवडाका अनुसार भूमिहीन किसानलाई भूमिमा पहुँच दिने, कोरोनाले रोजगारी गुमाएकालाई र विदेशबाट फर्केकालाई स्वदेशमा नै रोजगारी दिने कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालनमा आउनेछ ।
सो कार्यक्रम प्रदेश र स्थानीय तहको समन्वयमा समावेश हुनेछ । सुरुङ मार्ग, रेल मार्ग र जल मार्गलाई प्राथमिकता राखेर बजेट ल्याइने उनले बताए ।
नयाँ बजेटमा स्वास्थ्य क्षेत्र प्राथमिकतामा
उनले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सेवाको गुणस्तर तथा त्यसको पहुँच विस्तार गर्ने बताए । कोरोना रोकथाम र उपचारका एवं भविष्यमा आउन सक्ने यस प्रकारको महामारीसँग लड्न स्वास्थ्य प्रणालीलाई सबल र सुढृड तुल्याइनेछ ।
संघ प्रदेश र स्थानीय तहको सह-लगानीमा स्वास्थ्य पूर्वाधार विकास, जनशक्तिको क्षमता अभिवृद्धि र स्वास्थ्य बीमाको विस्तार गरिनेछ ।
आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै सेवाको गुणस्तर अभिवृद्धिमा प्राथमिकता दिइनेछ । वैदेशिक सहायतालाई स्वास्थ्य पूर्वाधार र आर्थिक पुनरुद्धारमा केन्द्रित गरिने भएको छ ।
मन्त्री खतिवडाका अनुसार सबै नागरिकलाई साक्षर बनाउने अभियानलाई प्राथमिकता दिइनेछ । गुणस्तरीय र जीवनउपयोगी शिक्षाको अवसर सुनिश्चित गरी उत्पादक नागरिक तयार गरिनेछ ।
आधारभूत तथा माध्यामिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै माध्यामिक तहमा प्राविधिक तथा व्यवसायिक शिक्षालाई जोड दिइनेछ । उच्च शिक्षालाई गुणस्तरीय बनाइनेछ ।
युवालाई विकास र सामाजिक रुपान्तरणको सम्भागको रुपमा परिचालन गरी राष्ट्र निमार्णको नेतृत्व गर्न सक्षम तुल्याइने छ । खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दे यस क्षेत्रको समग्र विकास गरिनेछ ।
कोरोना पुनरुत्थान प्याकेज
मन्त्री खतिवडाले कोरोनाले बढी प्रभावित पर्यटनसहित सेवा क्षेत्रमा पुनरुत्थानको प्याकेजहरु समेत बजेटले ल्याउने भएको छ । आन्तरिक पर्यटनका गतिविधि निर्माण, हवाई पूर्वाधार निर्माणलाई समेत प्राथमिकता दिइने बताए ।
सकेसम्म नयाँ आयोजना बजवेटमा नल्याएने र जारी आयोजना सक्ने लक्ष्य रहेको उनले बताए । विकास निर्माणमा कोरोनाले पारेको असरलाई प्राथमिकता दिई बजेट कार्यक्रम समावेश हुने छन् ।
पञ्चवर्षीय योजनामा समावेश भएका केही योजनाहरुलाई पुनः प्राथमिकीकरण गरी बजेट व्यवस्था गरिनेछ।
