काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवाद समाधानका लागि सरकारले एक्सन लिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले सरकारकाे कदम सहि भएपनि एक्सन लिँदा अझ राम्राे हुने बताए ।
समितिका अन्य सदस्यहरुले सरकारले ठिक लेटरमात्र पठाउने तर एक्सन गर्न नसक्ने स्थिति रहेको बताएपछि अध्यक्ष प्रचण्डले त्यसमा आफू सहमत भएको बतएका हुन् ।
उनले भने- ‘परराष्ट्र मन्त्रालयको तर्फबाट दिएको वक्तव्य पनि मैले हेरेँ र त्यो नीतिगत, सैद्धान्तिक र भावनात्मक रुपमा पनि ठिक नै छ,लेटरमा दिइएको ओरियन्टेसन बेठिक छैन, लेटरमात्रै ठिक भएर भएन एक्सन पनि ठिक हुन पर्यो भन्ने माननीय सदस्यहरुको भावना पनि बिलकुल सही छ ।’
लिपुलेक तथा जहाँ–जहाँको सीमामा विवाद छ, त्यो विषयमा भारत र चीन दुवै देशसँग छलफल गरिएको अध्यक्ष प्रचण्डले बताए । भारत र चीनले लिपुलेकको विषयमा गरेको सम्झौतापछि यो समस्या भारतसँगको मात्रै नभइ त्रिदेशीय समस्या भएकाे प्रचण्डले बताए ।
उनले भने- ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीयजस्तो बन्न गएको छ, यो दुई वटा देशले मात्रै हल गरेर पनि अब अप्ठ्यारो छ ।’
अध्यक्ष प्रचण्डले यो विषयलाई अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा भने एक पटक सोँच्नुपर्ने बताए । यो विषय सामान्य नभएको र भारतले पटक–पटक नक्सा प्रकाशित गर्दा लिपुलेक, लिम्पियाधुरा आफ्नो नक्सामा पारेको विषयलाई समेत हिसाब गर्नुपर्ने उनकाे भनाइ छ ।
कालापानीमा भारतीय सेना करिब ६०/६५ वर्ष पहिल्यैदेखि बसिराखेको र त्यसको बारेमा गम्भीरतापूर्वक विषयलाई उठाउने र समाधानको निम्ति पहल गर्नेमा विगतदेखि अहिलेसम्म किन भएन भनेर समेत विश्लेषण गर्नुपर्ने उनले बताए ।
याे पञ्चायतको पालादेखि अहिलेको सरकार सम्मले के गरे भन्ने पनि समीक्षा गर्नुपर्ने विषय भएको समेत प्रचण्डले बताए ।
गत वर्ष नै सरकारले सर्वदलीय र सर्वपक्षीय बैठक आह्वान गरी राष्ट्रिय सहमतिको वातावरण बनाइएको, त्यसबाट सरकार र प्रधानमन्त्रीलाई निकै ठूलो तागत दिएको भए पनि ठोस रुपमा काम अगाडि बढ्न नसकेको बताउँदै उनले भने-'मैले यसमा चासो दिएको छु ।'
