काठमाडौं । कालापानीमा भारतीय अतिक्रमण रोकेर नेपाली भूमि फिर्ता ल्याउन माग गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६ सांसद्ले कालापानी क्षेत्र फिर्ता ल्याइ राजनीतिक र प्रशासनिक उपस्थिति गराउन माग गर्दै अाइतबार संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
नेकपा सांसद्हरु गणेश ठगुन्ना, दीपकप्रकाश भट्ट, गणेशकुमारी पहाडी, रामकुमार झाँक्री र जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले सो प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्तावमा दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भूभाग नेपालको रहेको ऐतिहासिक प्रमाण, तथ्यहरू, विभिन्न समायमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरूले प्रमाणित गरेको उल्ल्ख छ ।
अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र पूरक सम्झौताले सीमा निर्धारण गर्ने पनि साे प्रस्तावमा उल्लेख छ ।
'सन् १८१६ को सुगौली सन्धिले स्पष्ट गरेको लिम्पियाधुराबाट निस्किने कुटीयांदी नै महाकाली नदी भएकाले सो पूर्वको करिब ४०० वर्गकिमी नेपाली भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक तथा प्रशासनिक नियन्त्रणमा राखेकोले उक्त भूभाग फिर्ता लिई नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न गराउनका लागि संकल्प प्रस्ताव पेस गरिएको हो'-प्रस्तावमा लेखिएकाे छ ।
अाइतबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यसबारे सांसद्हरुले उठाएका प्रश्नकाे जवाफ दिइसकेका छन् । उनले यी सबै समस्या कुटनीतिक माध्मबाट समाधान गरिने बताए ।
काेराेनापछि दुई देशबीच वार्ता गरेर सीमा समसया समाधान गर्ने उनले जानकारी दिएका थिए ।
