काठमाडौँ । नेकपाकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले आइडिया बैंकको प्रस्ताव अगाडि सारेकी छिन् । राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै उनले भनिन्– ‘अब विदेशबाट फर्किने युवाहरुले के काम गर्ने भनेर पहिचान गर्न तथा उनीहरुलाई उपाय दिन आइडिया बैंक खोल्नुपर्छ ।’
बजेटको सिद्धान्त तथा प्राथमिकतामा भएको छलफलमा बोल्दै उनले सो नौलो प्रस्ताव अगाडि सारेकी हुन् । उनले भनिन्–‘कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा विदेश गएका धेरै नेपाली फर्कन्छन् भन्ने चिन्ता छाएको छ । चिन्ता गर्न पर्दैन । फर्किएका युवाहरुलाई पैसा चाहिँदैन, आइडिया भए पुग्छ ।’
नयाँनयाँ काम तथा उद्यम गर्न सर्वसाधारणलाई आइडिया दिने, सर्वसाधारणबाटै सरकारले आइडिया लिने र आइडिया वितरण गर्नुपर्ने उनको आशय थियो ।
‘अब घरेलु उद्यम र आत्मनिर्भरतामुखी उद्यम व्यवसायमा जोड दिनुपर्छ’– भगवतीले भनिन् ।
इतिहासमा नेतृत्व गर्नेहरुको कमजोरीको कारण नेपालको सिमाना मिचिएको उनले बताइन् । इतिहासमा गरिएको कमजोरीकै कारण अहिले पनि नेपालको सीमा मिचिइरहेको उनले बताइन् । भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जाने सडक निर्माण गरेकोमा विरोध जनाउँदै राष्ट्रिय सभा बैठकमा भगवतीले भनिन्, ‘इतिहासको धेरै कालखण्डमा हाम्रा पुर्खाहरु चुक्नुभएको छ । जसका कारण अहिले पनि हाम्रो सीमा मिचिने क्रम जारी छ ।’
नेपाल र नेपालीको छातीमाथि विदेशीहरुले बुट बजार्ने काम तत्काल रोक्न माग गर्दै भगवतीले कूटनीतिक पहलबाट नेपालको मिचिएको भूमि फिर्ता लिने काम तत्काल सुरु गर्नुपर्ने बताइन् । उनले केही महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसारले सुन्ने गरी भारतले नेपालको जग्गा मिचेको कुरा बताएको स्मरण गराउँदै भारतले अझै अटेर गरिरहेको बताइन् । भारतीय रवैया विरुद्ध सिंगो राष्ट्र लाग्नुपर्ने बेला आएको उनले बताइन् ।
भगवतीले सांसदको पहुँचका आधारमा नभई माग र आवश्यकताको आधारमा विकास योजनाहरु छुट्याउन पनि सरकारको ध्यानाकर्षण गराइन् । ‘पहुँचको आधारमा योजना छुट्याउँदा कतै योजना धेरै जाने कतै जाँदै नजाने भयो’, उनले भनिन् ।
