काठमाडौं । प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद् गगनकुमार थापाले बाल कविता सुनाए ।
बैठकको शून्य समयमा बोल्दै उनले सांसद् थापाले सीमा मिचिएको विरोधमा बाल कविता बाचन गरेका हुन् ।
यस्ताे छ थापाकाे कविता:
छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको।
यस्तो सबल सरकार छ
सीमा कसले मिच्ने?
कोही छैनन् जोरी खोज्ने छैनन् कोही हेप्ने
सयौं कोस हिँड्दा पनि श्रमिक छैनन् आहात
गरिबलाई सम्मान छ सरकारबाट राहत
विदेशमा कोही पनि अलपत्र छैनन्
दु:ख, पीडा सुनाउने ती नेपाली नै होइनन्
जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको साह्रै मर्म बुझ्ने
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन् ओम्नी र यती
सबैतिर वाह वाह यस्तो विकास देख्दा
पत्रकार नि दंग छन् यी समाचार लेख्दा।
कोमल हृदयका प्रधानमन्त्री
आँसु कवि हाम्रा
दिन नबिराई सिर्जना छ आहा कति राम्रा
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत कविता भट्याउँदै कालापानी जाऔंला
सारा नेपाल हाँसेको छ मेचीकाली गाउँछ
आँसु आए बरू त्यही गीतले आउँछ।
यस्तो नायक गजबका ल्यायौं जानीजानी
अहो हामी नेपाली त साह्रो भाग्यमानी
म त साह्रै भाग्यमानी !
अरु सांसद्हरुले सीमा नाकामा कडाइ गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद्हरु अमरेश कुमार सिंहले नेपाल भारत–सिमानामा धेरै मानिसहरु समस्यामा परेका बताए । उनीहरुलाई तत्काल नेपाल ल्याउने व्यवस्था मिलाउन उनले आग्रह गरे ।
भारतसँगको सीमामा कडाई गर्न उनले सरकारलाई आगह गरे । लुकिछिपी मानिसहरु नेपाल छिर्ने क्रम नरोकिएको भन्दै उनले मधेशमा कोरानो बढिरहेको बताए ।
सांसद् आशाकुमारी विकले अहिले पनि जातिय विभेद कायम नै रहेको बताइन् । दलित भएकै कारण हुने विभेद तत्काल अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद् इन्दुकुमारी शर्मा घरेलु मदिरा सेवनको कारण महोत्तरीमा मानिसले ज्यान गुमाएको बताइन् । २० जना विपन्नको मृत्यु भएको भन्दै उनले मदिरा र खाद्यान्नको तस्करी रोक्न अपिल गरिन् । महिला हिंसा रोक्न र सीमामा कडाइ गर्न पनि उनले आग्रह गरिन् ।
सांसद् उमाकान्त चौधरीले आम नागरिकको पहुँचमा पिसिआर टेष्ट पुर्याउन माग गरे । सांसद् खगराज अधिकारीले कालापानी क्षेत्रमा वैदेशिक हस्तक्षेप भएकोमा निन्दा व्यक्त गरे ।
सांसद् खेमप्रकाश लोहनी कोरोना रोक्न सिमा नाका कडा गर्न सरकारको ध्यानाकर्षण गराए । विदेशमा रहेका नेपालीको उपचारको लागि कुटनैतिक पहल गर्न पनि उनले आग्रह गरे ।
