काठमाडाैं । काेराेना जाेखिम बढेकाे भन्दै सांसद्हरुले सीमा नाकामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
साेमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् अमरेश कुमार सिंहले भारतसँगको सीमामा कडाइ गर्न उनले सरकारलाई आगह गरे ।
लुकिछिपी मानिसहरु नेपाल छिर्ने क्रम नरोकिएको भन्दै उनले मधेशमा कोराना संक्रमणकाे जाेखिम बढेको बताए ।
नेपाल भारत–सिमानामा धेरै मानिसहरु समस्यामा परेका बताउँदै उनले तत्काल उनीहरुलाई नेपाल ल्याउने व्यवस्था मिलाउन उनले आग्रह गरे ।
सांसद् उमाकान्त चौधरीले आम नागरिकको पहुँचमा पीसीआर टेस्ट पुर्याउन माग गरे ।
सांसद् खेमप्रकाश लोहनीले कोरोना रोक्न सीमा नाका कडा गर्न सरकारको ध्यानाकर्षण गराए । विदेशमा रहेका नेपालीको उपचारको लागि कुटनीतिक पहल गर्न पनि उनले आग्रह गरे ।
सांसद् खगराज अधिकारीले कालापानी क्षेत्रमा वैदेशिक हस्तक्षेप भएकोमा निन्दा व्यक्त गरे ।
सांसद् आशाकुमारी विकले अहिले पनि जातिय विभेद कायम नै रहेको बताइन् । दलित भएकै कारण हुने विभेद तत्काल अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद् इन्दुकुमारी शर्मा घरेलु मदिरा सेवनको कारण महोत्तरीमा मानिसले ज्यान गुमाएको बताइन् । २० जना विपन्नको मृत्यु भएको भन्दै उनले मदिरा र खाद्यान्नको तस्करी रोक्न अपिल गरिन् ।
महिला हिंसा रोक्न र सीमामा कडाइ गर्न पनि उनले आग्रह गरिन् ।
