काठमाडौं । नेपाली कांग्रेसका सांसद् मिनेन्द्र रिजालले सरकारको कामको प्रशंसा गरेका छन् ।
प्रतिनिधि सभामा विनियोजन विधेयका सिद्धान्त र प्राथमिकता माथिकाे छलफलमा भाग लिंदै सासंद् रिजालले सरकारको प्रशंसा गरेका हुन् ।लकडाउनका बेलामा पनि सरकारले कृषहरुलाई रासायनिक मलको व्यवस्था गरेकाे भन्दै उनले सरकारको प्रशंसा गरेका हुन् ।
बैठकमा बोल्दै रिजालले भने- ‘अहिले बाली लगाउने बेलामा मलको अभाव छ, सरकारले यो लकडाउनका बेलामा पनि रासायनिक मल गाउँगाउँमा पुर्याएको छ । म त्यसको प्रशंसा गर्छु, तर यतिले मात्र पुगेको छैन,अझै कृषिमा केन्द्रित बनौँ ।’
रिजालले नयाँ बजेट कोरोनालाई केन्द्रित गरेर ल्याउन पनि सुझाव दिए । साउन महिनापछि कोरोनाको अवस्थालाई हेरेर पूरक बजेट ल्याउन समेत उनले सुझाव दिए । ‘कोरोनाले विश्व र नेपालको अर्थतन्त्रलाई कता लैजान्छ त्यसपछि पुरक बजेट ल्याउँला, अहिले नै ठूलो आकारको पूर्ण बजेट नल्याउँ’, उनले भने ।
कोरोना महामारीबाट निस्कन सरकालाई सबैसँग सहकार्य गरि अघि बढ्न सुझाव दिए । सरकार लोकातान्त्रिक मूल्य र मान्यतालाई आत्मासाथ गरेर सहकार्य गरि अघि बढ्नु पर्ने उनको सुझाव थियो ।
अहिले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको सुधारको समय भएको बताउँदै रिजालले सबै मिलेर परिवर्तनमा लाग्नु पर्ने बताए ।
