काठमाडौं । सांसद् विनोद कुमार चौधरीले कोरोनाका कारण संकटमा परेका उद्योग व्यवसायलाई जाेगाउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले आगामी दिनमा उद्योग व्यवसायमा आउन सक्ने मन्दीलाई मध्य नजर गर्दै बजेट विनियोजन गर्न माग गरेका हुन् ।
देशमा स्थापित व्यवसाय, उद्योग तथा सेवा क्षेत्रलाई जोगाउन नसके सरकार लामो समयका लागि वित्तीय संकटमा फस्ने बताए
उद्याेगलाई लैनाे गाईकाे संज्ञा दिँदै उनले भने –‘गोठको लैनो गाई बिरामी परेको छ, यस्लाई उपचार गरेर जोगाउन सके भरै भोलि दुहन पाइन्छ ।’
उपचार खर्च बचाउने लोभमा उद्योगलाई बचाउन नसकिए सदाका लागि अर्थतन्त्र गुम्ने बताउँदै उनले भने –‘संकटमा यिनीहरुलाई बचाउन सकियो भने राष्ट्र ढुकुटीमा निरन्तर योगदान पुर्याउँन सक्नेछन् ।’
उद्योगको प्रकृति, उसले झेलिरहेको समस्याको अवस्थाको मुल्यांकन गरी उद्योगले तत्काल व्यवहार धान्न सक्ने गरी व्यवस्था मिलाउन आवश्यक रहेको उनले बताए ।
श्रम बजारमा कोरोनाले उत्पन्न गरेको समस्याका कारण लाखौं युवा नेपाल फर्कने भन्दै उनले ति युवाहरुको रोजगारी व्यवस्थित गर्ने तर्फ सरकारले गृहकार्य गर्नुपर्ने सुझाव दिएका छन् ।
