काठमाडौं । सांसद् मानबहादुर विकले अहिले पनि प्रहरीले छुवाछुतको उजुरी दर्ता गर्न नमान्ने गुनासो गरेका छन् ।
प्रतिनिधि सभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिंदै उनले उजुरी लिएर जानेलाई अहिले पनि प्रहरीले त्यतिकै फर्काउने गरेको गुनासो गरे ।
‘समाजमा अझै छुत-अछुत भनेर व्यवहार गरिन्छ,छुवाछुतमा परेका दलितको उजुरी अझै प्रहरीले लिँदैन, यसमा सरकारले कडाइ गर्नुपर्याे’ - उनले भने ।
कास्की जिल्लामा छुवाछुत गर्नेमाथि प्रहरीले कारबाही अघि बढाएकोमा भने उनले धन्यवाद दिए । कोरोनाले कस्तो प्रभाव पार्ने र कति लामो समय जाने भन्ने कुरा थाहा नभएकोले त्यसलाई लक्षित गरि बजेट बनाउन उनले सुझाव दिए ।
अबको बजेट कोरोना केन्द्रित हुनु पर्ने उनको सुझाव थियो । बजेट सैद्धान्तिक भन्दापनि व्यवहारीक बनाउन आग्रह गर्दै विकले पछाडि पारिएका नागरिकहरुलाई व्यवहारिक रुपमा समावेशी बनाउने कार्यक्रम ल्याउन आग्रह गरे ।
