काठमाडौँ । मन्त्री पदबाट हटेपछि गाेकुलप्रसाद बाँस्काेटा पहिलाे पटक प्रतिनिधि सभा बैठकमा बाेलेका छन् । बाेल्न सुरु गर्नासाथ उनले अाफ्नै बारेमा बाेल्न अावश्यक थियाे तर अहिले त्यसका लागि बाेल्न समय नपाएकाे उनले बताए । पछि विशेष समय लिएर अाफ्नै बारेमा बाेल्ने भन्दै उनले भविष्यकाा लागि अाजै विशेष समय माग गरे ।
अाज उनले पूरानै र चीरपरिचित शैलीमा कुरा राखेका थिए । सरकारले गरेको राम्रो कामको प्रशंसा गर्नु अपराध गरे जत्तिकै भएको उनले गुनासो गरे ।
प्रतिनिधि सभामा विनियोजन विधेयका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै बाँस्कोटाले त्यस्ताे गुनासो गरेका हुन् ।
‘राम्रा कुराको प्रशंसा गर्नु परेन । तर, यहाँ त सरकारले राम्रो काम गर्याे भनेर बोल्नु पनि अपराध हुन्छ’, बाँस्कोटाले भने । कोराना नियन्त्रणको लागि सरकारले निक्कै राम्रो काम गरेको बताउँदै उनले ठूलाठूला विकसित राष्ट्रमा समेत दैनिक हजारौ मानिसको ज्यान जाँदा नेपालमा हालसम्म कुनै पनि मानवीय क्षति हुन नदिएकोमा सरकारको प्रशंसा गरे ।
अर्थमन्त्रीले अघि सारेको कार्यक्रम उपयुक्त भएको उनको तर्क थियो । ‘कसले प्रस्तुत गर्याे भनेर मुख नबंग्याउँ । राम्रोलाई राम्रो भनौँ’, बाँस्कोटाले भने । आगोले पोलको घाउ आगोले नै सेकाएर निको पार्नुपर्ने बताउँदै उनले जुनजुन क्षेत्रमा कोरोनाको कारण क्षति हुन्छ त्यसैलाई चलायमान बनाएर जानु पर्ने बताए ।
कोरोनाबाट मानिसहरुको मृत्युलाई जोगाउन सक्याैं भने नेपाललाई पर्यटनको सुरक्षित थलो बनाउन सकिने उनको भनाई थियो । ‘कोरोनाले कुनै क्षति पुर्याएन भने नेपालको पर्यटनमा चाँदीको घेरा हुनेछ’, बाँस्कोटाले भने ।
कृषिमा टुटेको चेनलाई जोड्दै उर्जा, सञ्चार र उद्योगलाई अघि बढाउने कार्यक्रम ल्याउन उनले सुझाव दिए । नेपाल रेमिटान्स लिने मुलुक मात्र नभएर भारतलाई रेमिटान्स दिने मुलुक पनि भएको उनले बताए, 'भारतमा जति रेमिट्यान्स भित्रन्छ, त्यसमा नेपाल साताैं नम्बरमा छ ।'
कोरानासँगै अनिकाल आउन सक्ने भन्दै उनले सचेत हुन आग्रह गरे । सरकारले नेपालको निजी क्षेत्रलाई सँगै लिएर हिँड्नुपर्ने भए पनि निजि क्षेत्र इमान्दार हुन नसकेको उनले बताए । ‘नेपालको निजि क्षेत्र सरकारी सहयोगको समेत काम नगर्ने खालको छ’, निजी क्षेत्रको आलोचना गर्दै उनले भने । वर्गीय क्षमताका आधारमा विधि बनाएर बजेटलाई उत्पादनमूलक क्षेत्रमा लागाउनु पर्नेमा उनले जोड दिए ।
