काठमाडौं । सांसद्हरुले कोेरोना भाइरस परीक्षणका लागि विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद्हरुले कोरोना परीक्षणका लागि विभिन्न ठाउँमा अझै पनि आवश्यक स्वास्थ्य सामाग्री पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले भारत लगायत विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न र कृषि उपजको बजार व्यवस्थापन प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।
सांसद टेकबहादुर बस्नेतले सल्यानमा स्वास्थ्य परीक्षणको काम रोकिएको भन्दै तत्काल सुरु गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद दलबहादुर लामाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाल्पा जिल्ला प्रशासन कार्यालयले माग गरे अनुसार तत्काल स्वास्थ्य सामग्री पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराए ।
सांसद तेजुलाल चौधरीले कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले निम्त्याएको समस्यामा सरकार भएको महशुस सर्वसाधारणले गर्न नसकेको बताए । उनले भने– ‘कोरोनाको कारण मुलुक लकडाउनमा छ, खै कहाँ छ सरकार ? के गरिरहेको छ सरकार ?’
सरकार हुनेखानेका अगाडि नाँचिरहेको बताउँदै उनले भने– ‘हो सरकार छ त केवल हुने खानेको, लकडाउनमा कमिसन खानेको, भ्रष्टाचारीको दलालीको, विचौलियाको र अपहरण गर्नेको ।’
उनले अगाडि थपे – ‘विदेशबाट स्वदेश फर्कन खोज्नेको लागि सरकार छैन, तीनका लागि देश छैन, मालिकहरुको सरकार भन्छ तिमीहरु भाग्य भए त्यतै बाच नभए त्यतै मर ।’
सांसद् डिला संग्रौला पन्त कोरोना भन्दा पहिला नै विदेशमा रोजगारीका क्रममा निधन भएकाको शव ल्याउन नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले विदेश र भारतीय सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन माग गरिन् ।
सांसद् दामोदर भण्डारी र दिल कुमारीले विदेशमा अलपत्र परेका नेपालीलाई यथासिघ्र स्वदेश ल्याउने व्यवस्था मिलाउन माग गरे ।
सांसद् दीपक प्रसाद भट्टले भारतमा काम गर्न गएका लाखौ नेपाली संकटमा रहेको भन्दै उनीहरुको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए ।
