काठमाडौँ । नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री सांसद भीमबहादुर रावलले सरकारको ध्यान कोरोना नियन्त्रण र सीमा सुरक्षामा केन्द्रीत हुनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै रावलले भने ‘अबको बजेट तथा कार्यक्रम कोरोना नियन्त्रण र सीमा सुरक्षमा केन्द्रीत हुनुपर्छ । ’
बैठकमा बोल्दै रावलले नेपालको सीमा सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माण गरी तत्काल कालापानीमा सुरक्षकर्मी खटाउनु पर्ने बताए ।
‘अहिले भारतबाट लुकिछिपी छिरेका मनिस रोक्न खटाइएका सुरक्षाकर्मीहरुको समेत बिचल्ली भएको भन्ने सुनिएको छ । यस्तो अवस्थामा देशको सुरक्षामा उनीहरु कसरी खट्न सक्छन् ? ’ रावलले भने ।
नेपालको राष्ट्रि सुरक्षा सुदृढ गर्न तत्काल राष्ट्रिय नक्सा जारी गर्नु पर्ने उनको सुझाव थियो । ‘नेपाली भूभाग समेटेर नेपाली नक्सा जारी भए पछि नेपाली नागरिकहरुले अाफ्नाे भूमिको दावी गरी स्वतन्त्र रुपमले कालापानी, लिपुलेक पुग्ने वातारण बन्छ’, रावलले भने ।
नेपालको उत्पादन सडेर जाने तर भारतबाट ट्रकका ट्रक तरकारी भित्रने प्रथाको अन्त्य गर्ने गरी सरकारको कार्यक्रम आउनुपर्ने उनले बताए ।
भ्रष्टाचार रोक्ने राज्यका निकायलाई स्वतन्त्र रुपले काम गर्न दिने वातावरण बनाउन समेत उनले माग गरे । भारतमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने वातावरण मिलाउन पनि उनले आग्रह गरे ।
