काठमाडाैं । नेपाली कांग्रेसका सांसद् ज्ञानेन्द्र बहादुर कार्कीले स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राखेर बजेट ल्याउन सुझाव दिएका छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले मानव जीवनको रक्षा गर्दै बजेटमा सिद्धान्त आउनुपर्ने भएपनि कोरोनालाई नजरअन्दाज गरेर परम्परागत ढंगबाट सिद्धान्त र प्राथमिकता आएको बताए ।
नेपाली जनताको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा लगानी गर्दै नेपाली अर्थतन्त्र चलायमान बनाउने अवस्थामा सरकारले त्यसो गर्न नसकेको उनले बताए । सरकारले अघि सारेका सिद्धान्त र प्राथमिकताका कारण मुलुकको अर्थतन्त्र धरासायी बन्ने र नेपालीको जीवन कष्टकर हुन सक्ने चेतावनी उनले दिए ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा आफ्नो विचार राख्दै उनले फागुनसम्म विकास खर्च २५ प्रतिशत मात्रै हुनु अहिलेको सरकारको ठूलो असफलता भएको बताए ।
सरकारको खर्चमा शिथिलता, नीजि क्षेत्रप्रतिको अविश्वास र बढ्दो भ्रष्टाचारका कारण नेपाली अर्थतन्त्र सिथिल हुँदै गएको उनले बताए । निर्वाचनको समयमा स्थिर सरकार र सुखि नेपाली समृद्ध नेपालको नारा दिएपनि तेस्रो बजेट ल्याउने तयारी हुँदा समेत राष्ट्रिय गौरवका योजनाहरुको प्रगति शून्य प्राय रहेको उनले बताए।
उनले भने, ‘सरकार तेस्रो बजेट ल्याउने तयारीमा छ, निर्वाचनमा स्थिर सरकार र सुखि नेपाली समृद्ध नेपालको नारा लगायौँ, तर तेस्रो बजेट ल्याउँदै गर्दा यो सरकारले विगत २ वर्षमा राष्ट्रिय गौरबका आयोजनाहरुको अवस्था चिन्ताजनक छ ३३ अर्बका लागतमा आर्थिक वर्ष ०७४/२०७५ मा सम्पन्न गर्ने भनिएको मध्यपहाडी लोकमार्ग लागतको लागत बढेर ८४ अर्ब पुगेको छ, ०७९/०८० सम्म सम्पन्न गर्ने भनिएको छ । ४७ अर्बको हुलाकी राजमार्ग अहिले ६५ अर्ब लागत पुग्यो, सिक्टाको लागत करिब दोब्बर भएको छ।’
उनले ०७०/७१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको कर्णाली राजमार्ग १० वर्ष पर धकेलिएको र नीजगढ विमानस्थलको प्रगति शून्य भएकाे बताए ।
उनले भने- 'आजको मितिसम्म विद्यूत क्षेत्रमा भारतबाट ५५ अर्बको निर्यात गरिरहेका छौँ, माथिल्लो तामाकोसी ३५ अरब ९ करोड लागतमा २ वर्ष अगाडी सम्पन्न गरिसक्नुपर्नेमा अहिले लागत ७७ अर्बमा पुगेको छ, माथिल्लो सेती, बुढीगण्डकी आयोजा पनि त्यस्तै छ, ड्रिम प्राजेक्टको रुपमा रहेको मेलम्ची ड्रिममै रहेको छ । यस्तो अवस्थाले कसरी देशको विकास हुन सक्छ। यो गतिले नेपाल कहिले विकास हुन सक्छ ?’
