काठमाडौं । काेराेना संक्रमण जाेखिमका कारण संघीय संसद्काे बजेट अधिवेशन ढिला सुरु भएकाे छ याे वर्ष ।
काेराेना त्रासबीच सुरु संघीय संसद्का दुवै बैठक राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्री-बजेट छलफल पनि धेरै दिन राखिएकाे छैन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता आइतबार संघीय संसद्का दुवै सदनमा पेस गरे ।
त्यसपछि दुबै सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी छ ।
छलफलमा भाग लिने सांसद्हरुले विषयवस्तु भन्दा बाहिर गएर विचार राखेका छन् । आगामी वर्षको बजेट कस्तो बनाउनु पर्छ ? भन्ने विषयमा सुझाव लिन प्री-बजेट छलफल चलिरहेकाे छ ।
तर, यस्ताे महत्वपूर्ण छलफलमा पनि सांसद्हरुले आफ्ना व्यक्तिगत समस्या र जीवनको लक्ष्यको गाँठो समेत फुकाउन भ्याएका छन् ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका सांसद् राजेन्द्र लिङ्देनले आफू लामो रेसको घोडा भएकाले उपेक्षा नगर्न चेतावनी दिए ।
आफूले बोल्ने बेलामा अर्थमन्त्री बैठकमा नबसेकोप्रति लक्षित गर्दै उनले भने- ‘म पनि लामो रेसको घोडा हूँ, दुई खुट्टा टेकुञ्जेल सँधै राजनीतिमा रहने इच्छा त छैन, तर, नेपालको राजनीतिमा अझै पन्ध्र बीस वर्ष क्रियाशिल हुन्छु, यसरी उपेक्षा नगर्नुस् ।’
आफू प्रतिपक्षी दलको नेता पनि भएकाले आफ्नो क्षेत्रका लागि विशेष बजेट व्यवस्था गर्न समेत उनले माग गरे ।
बैठकमा सांसद प्रदीप यादवलाई भने आफूले लिएको बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ता देखियाे ।
‘सरकारको के आदेश छ मलाई थाहा छैन, मैले पनि अलिकति ऋण लिएको छू, बैंकबाट फोन आउन थालेको छ, ब्याज हालिदिनुस् भनेर अहिले कहाँबाट पैसा ल्याउँ म ? उनले थपे- अवस्था यस्तो छ ।’
यादवले कम्तिमा पनि ६ महिना ब्याज तिर्न नपर्ने व्यवस्था मिलाइदिन अर्थमन्त्रीलाई अनुरोध गरे । कोरोनाको चपेटामा परेका उद्योगहरु धरासायी भएको बताउँदै उनले उद्योगहरुलाई बचाउन सरकारसँग माग गरे ।
